
मध्यपुरथिमि नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा लागू गरेको छ ।
पुस १ गतेदेखि लागू हुने गरी नगरपालिकाले ज्येष्ठ नागरिक तथा ५ जनासम्म परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा लागू गरेको नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको पहुँच पुर्याउने उद्देश्यले ५ जनासम्मका परिवार, आश्रित बालबालिका र ६० वर्षदेखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउने निर्णय गरी कार्यान्वयनमा ल्याएको उनले बताए ।
नगरपालिकाका उपप्रमुख श्रेष्ठले भने, ‘नगरपालिकाले पहिलोपटक निःशुल्क स्वास्थ्य बिमा लागू गरेको छ, ५ जनासम्म परिवार संख्या भएका सबै नागरिकलाई बीमा बापतको ३ हजार ५०० रुपैयाँ प्रिमियम रकम समेत नगरपालिकाले व्यहोर्ने छ, बुवाआमा नभएका टुहुरा नाबालक जो ज्येष्ठ नागरिकप्रति आश्रित रहेका छन् उनीहरूको पनि सबैको स्वास्थ्य बीमाको प्रिमियम रकम नगरपालिकाले नै व्यहोर्नेछ ।’
उनले ७० वर्षभन्दा माथिका नागरिकको हकमा सरकारले नै १ लाखसम्मको स्वास्थ्य बीमा निःशुल्क गरिदिएकाले त्यसको हकमा नगरपालिकाले निर्णय गर्नु नपरेको बताए । उनले यसका लागि नगरपालिकाले बजेट विनियोजन गरेर निर्णयलगत्तै कार्यान्वयनमा ल्याएको बताए ।