२५ असार २०८३, बिहीबार

शिक्षकलाई पढाउँदै मिर्गौला विशेषज्ञ डा. श्रेष्ठ

शिक्षकलाई पढाउँदै मिर्गौला विशेषज्ञ डा. श्रेष्ठ
प्रतिकात्मक तस्वीर

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मिर्गौला विशेषज्ञ डा. कल्पनाकुमारी श्रेष्ठले शिक्षकलाई पढाउँदै आएकी छन् ।

शिक्षकले विद्यार्थी र विद्यार्थीमार्फत घरघरमा जनचेतना पुगोस् भन्ने हेतुले चन्द्रकोट गाउँपालिकाका शिक्षकलाई अंग दानसम्बन्धी जानकारी गराएकी हुन् ।

गाउँपालिकाको बृहत् निःशुल्क स्वास्थ्य शिविरको लागि शान्तिपुरमा आएकी डा. श्रेष्ठले गाउँपालिकाका–१२ विद्यालयका १७ शिक्षकलाई मिर्गौला रोगसँगै अंग दानसम्बन्धी जानकारी दिइन् । उनले मिर्गौलाको निःशुल्क डायलाइसिस र निःशुल्क प्रत्यारोपण हुन्छ भन्ने गाउँगाउँमा जानकारी नभएकाले शिक्षकमार्फत प्रत्येक घरमा जानकारी गराउन आग्रह गरिन् ।

आर्थिक अभावमा मिर्गौलाको उपचार नरोकिने र प्रत्यारोपण गर्न परेमा मिर्गौला दिने र लिने २ व्यक्ति भएमा पुग्ने उनले बताइन् । डा. श्रेष्ठले शरीरका ८ अंग दान गरेर ८ जनालाई संसार देखाउन सकिने बताइन् । रोगले च्यापेर मृत्यु अवस्थामा पुगेपछि अनिवार्य अस्पतालमा पुर्‍याउनुपर्ने जनचेतना पनि गाउँगाउँमा आवश्यक रहेको उनको भनाइ छ । 

मिर्गौला विशेषज्ञ डा. श्रेष्ठले मिर्गौला असफल भएका बिरामी गाउँगाउँमा धेरै रहेको र यसको लक्षण पहिले नै नदेखिने भएकाले समय–समयमा जाँच गर्न पनि शिक्षकले विद्यार्थी र विद्यार्थीले घरमा भनेर सबैलाई सचेत गराउन आवश्यक रहेको बताएका थिए ।

१२ विद्यालयबाट सहभागी शिक्षकले मिर्गौला रोग र अंग दानसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । वरिष्ठ विशेषज्ञ आएको समयमा अप्रत्यक्षरूपमा गाउँगाउँका सचेतनाका लागि सबै शिक्षकलाई त्यससम्बन्धी शिक्षा दिइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख नयनसिंह ठकुरीले जानकारी दिए । शिक्षकले विद्यालयमा विद्यार्थीलाई आफूले सिकेको कुरा सिकाउनेछन् ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले जनताको स्वास्थ्यप्रति गम्भीर हुँदै गाउँगाउँमा सचेतना होस् भनेर शिक्षकलाई चिकित्सकमार्फत जानकारी गराएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्