
नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधिलगायतका प्रतिनिधि सभामा निर्वाचित सांसदहरूले संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वभाविक हुने तर्क गरे ।
शनिवार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले आयोजना गरेको सांसदहरूको भेलामा सहभागी कांग्रेस प्रवक्ता महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रधानमन्त्रीमा इच्छा व्यक्त गरे पनि सरकारको नेतृत्व कांग्रेसले नै गर्नु स्वभाविक हुने प्रतिक्रिया दिए । उनले सञ्चारकर्मीमाझ आफ्नै पार्टी नेतृत्वको सरकारलाई देशले र जनताले स्वभाविक रुपमा लिने धारणा समेत राखे ।
‘गठबन्धनमा पनि हाम्रो फराकिलो अन्तरले ठूलो दलको हैसियत छ । त्यसअर्थमा स्वभाविक रुपमा नेपाली कांग्रेसको प्रधानमन्त्री हुने कुरालाई देशले, जनताले सबैले स्वभाविक रुपमा लिन्छन् भन्ने हाम्रो दृष्टिकोण छ’, प्रवक्ता महतले भने, ‘प्रचण्डजीले पनि प्रधानमन्त्रीका लागि इ्च्छा व्यक्त गर्नु भएको छ । त्यसलाई हामीले भन्न नमिल्ने भन्ने कुरा छैन । प्रधानमन्त्री भइसकेको व्यक्तित्व हुनु हुन्छ उहाँ । नेतृत्व गर्न पाए हुन्थ्यो भन्ने उहाँको इच्छा छ । त्यसलाई हामी सम्मान नै गर्छौं तर अहिलेको अवस्थामा नेपाली कांग्रेसको नेतृत्व चाहिँ स्वभाविक ठहर्छ ।’
प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्नेमा कांग्रेस नेता विमलेन्द्र निधि पनि ढुक्क छन् । उनले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नु परिस्थितिजन्य निष्कर्ष भएको औँल्याउँदै सोही बाटोमा मुलुक अघि बढ्ने बताए । उनले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ । र, हाम्रो चाहना पनि हो । र, अहिलेसम्मको परिस्थितिजन्य निष्कर्ष पनि हो । प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्छ भन्ने हाम्रो ठम्याई हो ।’
सांसद दिपक खड्काले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन गठबन्धन दलहरूबीचमा सहमति जुट्ने विश्वास व्यक्त गरे । उनले पार्टी संसदीय दलको नेतामा पनि देउवा भारी मतले विजयी हुने अवस्था रहेको बताउँदै भने, ‘ठूलो दल हुनुको नाताले नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने र त्यसको पक्षमा सहमति जुट्ने विश्वास छ । सांसदहरूको अंकगणितलाई हेर्ने हो भने देउवाले दाबी गर्दा त्यही नै भारी हुने देखिन्छ ।’