
पुस ६ गते कांग्रेस संसदीय दलको चुनावको लागि भोलि (मंगलवार) उम्मेदवारी दर्ता गर्नुपर्ने भएपछि कांग्रेसको संस्थापन इतर समूह आन्तरिक छलफलमा जुटेको छ । संस्थापन इतरबाट महामन्त्री गगन थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिने बताउँदै आएका छन् । त्यसैगरी, संस्थापन इतर खेमाको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले पनि संसदीय दलको नेतामा रूचि देखाएका छन् ।
संस्थापन इतरको साझा उम्मेदवार बनाउनका लागि शेखर कोइराला र गगन थापासहितको समूह आन्तरिक छलफलमा जुटेको हो । उनीहरू बाहेक, धनराज गुरूङ, डा. चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडूलगायतका नेता छलफलमा रहेको उनीहरूनिकट कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
‘शेखर कोइरालाले प्रस्टरूपमा संसदीय दलको नेतामा दाबी गर्नुभएको छैन । तर, पनि उहाँले समूहमै छलफल गर्न चाहेकाले अहिले उहाँहरू छलफलमा हुनुहुन्छ’, ती केन्द्रीय सदस्यले बताए ।
यो छलफलअघि आज बिहानै डा. शेखर कोइराला र गगन थापाले एक्ला–एक्लै भेटवार्ता गरेका छन् । उक्त भेटवार्तामा थापाले कोइरालासमक्ष स्पष्ट रुपमा आफ्नो उम्मेदवारीका बारेमा कुरा राखेको ती केन्द्रीय सदस्यले बताए ।