
काठमाडौं, ३१ श्रावण– चावहिलस्थित जीवन विज्ञान प्रतिष्ठानमा सोमबार एक समारोहबीच श्रीकृष्ण जन्माष्टमी पर्व मनाइएको छ ।
कार्यक्रममा जीवन विकास विशेषज्ञ एल पि भानु शर्माले केही दिनअघि लगातारको वर्षासँगै आएको भीषण बाढी र डुवानको चपेटामा मुख्यगरी तराईका विभिन्न जिल्लाका हजारौं सर्वसाधारण पीडामा परेकाले राहत र सेवामा जुट्न सबैसँग आग्रह गरे । बाढीपीडितलाई लक्षित गरी ‘जीवन विज्ञान’ले बैंक खाता सञ्चालनमा ल्याएकाले त्यसमा सहयोगार्थ रकम जम्मा गर्न सकिने र साथै केन्द्रमा खाद्यान्न, लत्ताकपडा लगायत सामग्री उपलब्ध गराउन पनि शर्माले आग्रह गरे । यसपटक उद्योग वाणिज्य सङ्घसँग मिलेर पीडितहरुमाझ राहत पु¥याउने र वितरण पूरै पारदर्शी हुनेसमेत शर्माले जानकारी दिए । स्मरणीय छ, भूकम्पमा पनि ‘जीवन विज्ञान’ले पीडितहरुलाई यथेष्ट सहयोग गरेको थियो ।
विपद्मा परेर देशबासी रोइरहेका बेला कृष्णप्रतिको भक्तिभावलाई सेवामा रुपान्तरण गर्न विशेषज्ञ शर्माले सबैसँग आग्रह गरेका हुन् ।
कृष्णको प्राकट्य दिवस सालभरि मनाउने तरिका ‘ध्यान’ र ‘सेवा’ भएको स्पष्ट पार्दै विशेषज्ञ शर्माले भने, ‘अरुप्रति ध्यान दिनु सेवा र आफूप्रति फर्कनु ध्यान हो ।’ यसलाई थप स्पष्ट पार्दै शर्माले भने, ‘अरुको घाउमा सेवाले मलमपट्टी लगाउँछ र आफ्नो घाउमा ध्यानले मलमपट्टी लगाउँछ ।’
पछिल्लो समयमा ध्यानका केन्द्रहरु बढी अन्तर्मुखी हुँदै गएका र मन्दिरहरु बहिर्मुखी मात्रै हुँदै गएकोप्रति चिन्ता गर्दै शर्माले भने, ‘जीवन विज्ञानले ध्यान र सेवारुपी रथलाई सँगसँगै लैजानकै लागि अथक् मिहिनेत गरिरहेको छ । रथका दुवै पाङ्ग्रालाई सँगै अघि बढाउँदा मात्रै जीवन धन्य हुने र ईश्वरप्रति पनि सच्चा श्रद्धाभाव व्यक्त हुनेछ ।’
भगवान् श्रीकृष्ण भोलि खोज्ने विषय नभएको स्पष्ट पार्दै विशेषज्ञ शर्माले कृष्ण हाम्रो जीवन्तता भएको, भित्र हरपल धड्किरहेको भन्दै मथुरा, गोकुल र द्वारका चहार्नै नपर्ने स्पष्ट पारे । साथै, उनले बाँसुरीको धुन संसारकै उत्कृष्ट सङ्गीत भएको र मयूरको प्वाँखभित्र रङ्गीचङ्गी रङहरु थुप्रै रहे पनि अन्ततः ती सबै रङहरु व्यवस्थित भएझैं श्रीकृष्णको स्वरुप पनि व्यवस्थित रहेको स्पष्ट पारे ।
उक्त कार्यक्रममा कृष्णप्रणामी धर्मका प्रचारक महेन्द्रजी महाराजको समेत उपस्थिति थियो ।
विशेषज्ञ शर्माले उपस्थित महानुभावहरुलाई महेन्द्रजी महाराजको परिचय यसरी गराए, ‘महामति प्राणनाथका शिष्य महेन्द्रजी महाराज अध्यात्म साधनाका प्रकाण्ड विद्वान् र कृष्णप्रणामी धर्मका महान् प्रचारक हुनुहुन्छ । आफ्ना धेरै शिष्यलाई धर्मप्रचारक बनाई उहाँ समाज रुपान्तरणमा निरन्तर समर्पित हुनुहुन्छ । दुव्र्यसनमा फसेका कैयौं व्यक्तिलाई उहाँले परिवर्तन गर्नुका साथै धेरै गाउँसमाजलाई नै सात्विक बनाई निरन्तर आध्यात्मिक मार्गमा लाग्ने सत्प्रेरणा दिइरहनुभएको छ । ‘तारतम सागर’जस्तो बृहद्काय रचनाको विहङ्गम व्याख्या गरी आध्यात्मिक जागरणका माध्यमबाट समाज सुधारमा अहं भूमिका खेलिरहनुभएको छ ।’
कार्यक्रममा महेन्द्रजी महाराजले कृष्ण पनि आफैंभित्र रहेको र कंश पनि आफैंभित्र रहेको स्पष्ट पार्दै अहङ्कार, क्रोध जस्ता दुर्भावना कंश भएको तथा प्रेम र सेवाजस्ता भावना कृष्ण रहेको स्पष्ट पारे । जीवनमा प्रेम र उत्साह हुनुपर्ने तर अहङ्कार हुनै नहुनेमा उनले जोड दिए । सदा मुस्कुराउन प्रेरणा दिएका स्वामी महेन्द्रले मुहारमा हरक्षण स्वतः खुसी र उमङ्ग आउन थालेका घडी वेद, उपनिषद् र सम्पूर्ण पुराणहरु त्यहीँ समाप्त हुने दाबी गरे । संसार असाध्यै राम्रो रहेको उल्लेख गर्दै उनले हामीभित्र अहङ्कार रहुन्जेल त्यसले सुन्दरताको अनुभूति गर्नै नदिने स्पष्ट पार्दै अहङ्कार त्याग्नैपर्नेमा जोड दिए । अध्यात्मजस्तो गहन विषयलाई सोदारहण निकै सरलताका साथ प्रस्तुत गरेका महाराज महेन्द्रले ‘जीवन विज्ञान’ अत्यन्तै वैज्ञानिक र आधुनिक आध्यात्मिक संस्था भएको भन्दै यहाँ भइरहेका साधनाहरु पनि समीचीन रहेको प्रकाश गरे ।
साधक रमेश कँडेलले सञ्चालन गरेको कार्यक्रममा स्मारिका फुँयालले गीत गाएकी थिइन् भने उनलाई सुरज भण्डारीले बाँसुरीमा साथ दिएका थिए । त्यस्तै, टङ्क न्यौपानेले बाँसुरीको सुरम्य धुन प्रस्तुत गरेका थिए भने जीवन योग प्रयोगशाला कोटेश्वर केन्द्रका सदस्यहरुले भजन गाएका थिए ।
कृष्ण जन्माष्टमीका पावन अवसरमा भगवान् श्रीकृष्णसँग सम्बन्धी अन्य केही भजनहरुसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।