
तराईका अधिकांश भूभागमा बाक्लो कुहिरो र हुस्सु लाग्ने र पहाडी भूभागसहित देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न सावधानी अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।
भारतको जम्मु कश्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेकाले सामान्य बदली कायम रहने विभागको भनाइ छ । आज बुधबार प्रदेश १ मा आंशिक बदली रहने र बाँकी ठाउँमा मौसम सफा रहने विभागले जनाएको छ ।
त्यस्तै, भोलि बिहीबार प्रदेश १, गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । सोहीअनुसार पुस ८ गते शुक्रबार पनि प्रदेश १ मा आंशिक बदली रहने र बाँकी ठाउँको मौसम सामान्य रहने छ । हिमाली क्षेत्रमा हल्का हिमपात हुने विभागको भनाइ छ ।
विभागका अनुसार काठमाडौंको न्युनतम तापक्रम ६ दशमलब ५ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै, जुम्लाको माइनस ५ दशमलब ४ र जोमसोमको तापक्रम माइनस ५ दशमलब ५ मा झरेको छ । सबैभन्दा बढी धरानको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस रहेको छ ।