
कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगन थापाले भावी सन्तति र पार्टीको भविष्य सम्झेर आफूलाई मतदान गर्न आग्रह गरेका छन् । संसदीय दलको नेता चयनका लागि मतदान सुरु हुनुअघि एक अपील जारी गर्दै महामन्त्री समेत रहेका थापाले विवेकसम्मत निर्णय गर्न सबै मतदाता सांसदहरुसँग आग्रह गरेका हुन् ।
‘नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नु भएका अग्रज नेताहरुको उच्च सम्मान गर्दै यहाँहरुवाट मार्गनिर्देनको अपेक्षा गर्दछु’, थापाको अपीलमा भनिएको छ, ‘पार्टीका श्रद्धेय नेताहरू तथा सम्पूर्ण माननीय सांसदज्यूहरूले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर छातीमा हात राखि युगानुकुल निर्णय गरी संसदीय दलको नेतामा मलाई मतदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछु।’
संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने पनि उनको भनाइ छ । वर्तमान राजनीतिक अन्यौलता र आर्थिक संकटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा भएको थापाले बताएका छन् ।
उनले सरकारको नेतृत्व, सोच, नीति, कार्यक्रम र कार्यशैली परिवर्तनका पक्षमा नेपाली जनताले दिएको जनादेशको पूर्ण सम्मान गर्ने प्रतिबद्धतासहित थापाले भनेका छन्, ‘तीन–तीन वटा जनआन्दोलनको नेतृत्व गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेपाली कांग्रेस जस्तो क्रान्तिकारी, ऐतिहासिक र लोकतान्त्रिक पार्टीको संसदीय दलको नेताका रुपमा मलाई प्रस्ताव गर्नु भएकोमा आदरणीय अग्रज नेताहरू र सांसद साथीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु । तपाईंहरूको यो विश्वासले मलाई देश र जनताको पक्षमा काम गर्न थप उर्जा र प्रेरणा मिलेको छ । मैले तपाईंहरूको यो विश्वास कहिल्यै डगमगाउन नदिने प्रण गर्दछु ।’
संसदीय दलको निर्वाचनमा थापाको प्रतिस्पर्धा सभापति शेरबहादुर देउवासँग हुँदैछ ।