२६ असार २०८३, शुक्रबार

सरसर्ती २४ घण्टा : देशभर कहाँ के भए, मुख्यमुख्य घटनाक्रम हेर्नुहोस्

सरसर्ती २४ घण्टा : देशभर कहाँ के भए, मुख्यमुख्य घटनाक्रम हेर्नुहोस्

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर जबराले सपथ ग्रहण गराउने भएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ऐन, कानून र संवैधानिक व्यवस्थाअनुसार नेता जबराले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको हैसियतले नव निर्वाचित सांसदहरूलाई सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको बताए । 

पुस ७ गते बिहीवार अपरान्ह १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सपथग्रहण कार्यक्रम तय गरिएको छ । प्रवक्ता पाण्डेका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य जबरालाई शपथ ग्रहण गराएपछि मात्रै उनले अन्य सांसदहरुलाई सपथ गराउनुपर्ने हुन्छ । त्यसका लागि बुधवारको कार्यक्रम तय गरिएको पनि प्रवक्ता पाण्डेले जानकारी दिए ।
०००००
नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा हुने भएको छ । बुधवार हुने निर्वाचनका लागि उनीहरू दुवैजनाले मंगलवार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराए । 
महामन्त्री गगन मंगलवार दिउँसो पौने ३ बजे उम्मेदवारी दर्ता गराउन संसदीय दलको कार्यालय पुगेका थिए । गगन पुगेको केहीबेरमै सभापति देउवा पनि उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।
००००
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको असहज परिस्थितिमा पार्टीभित्र विश्वासको वातावरण बनाउन संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई समर्थन गरेको बताएका छन् । 
संसदीय दलको नेतामा देउवाको प्रस्तावकका रूपमा सिंहदरबार पुगेका नेता पौडेलले पार्टीभित्र र बाहिरसमेत विश्वासको वातावरण बनाउन आवश्यक भएकाले पार्टी सभापतिलाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने निर्णयमा पुगेको बताए । उनले संसदीय दलको नेतामा सभापति देउवा निर्विरोध हुने दाबीसमेत गरे ।
००००
जनमत पार्टीले मधेश प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा सिके राउतलाई दिएको छ । पार्टीको जनकपुरधाममा मंगलवार बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा राउतलाई दिने निर्णय भएको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशकुमार यादवले जानकारी दिए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्ने नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीबाट निर्वाचित सांसदहरू सम्मान गर्न मंगलवार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उनले बुथ क्याप्चर भएको ठाउँमा पनि निर्वाचन नदोर्होयाएर आयोगले आफ्नो कर्तव्य निर्वाह गर्न नसकेको आरोप लगाए । 
अध्यक्ष ओलीले मरेका मान्छेहरुले समेत मत हाल्दा पनि निर्वाचन आयोगले पुनः निर्वाचन गराउने काम नगरेर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको जिकीर गरे । उनले आगामी दिनमा निर्वाचन आयोगका त्यस्ता गतिविधिहरुलाई रोक्नैपर्ने बताए ।
००००
यसैगरी एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । कमलादीस्थित प्रज्ञा भवनमा बसेको संसदीय दलको बैठले ओलीलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको सांसद एवं एमाले नेता ठाकुर गैरेले जानकारी दिए ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङदेन चयन भएका छन् । मंगलवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले लिङदेनलाई संसदीय दलको नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
००००
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकारका पालामा भएका राम्रा कामको चर्चा हुन नसकेको बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला एवं आबद्ध सङ्घका अध्यक्षको विशेष भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेस सरकारको पालामा राम्रो काम भए पनि उक्त कामको चर्चा हुन नसकेको बताएका हुन् । “शेरबहादुर देउवा पटकपटक प्रधानमन्त्री भएर राम्रो काम गरे पनि चर्चा हुन सकेन”, उनले भने । देउवा प्रधानमन्त्री हुँदा मुक्तकमैया, दलित, महिला, जनजातिलगायतका आयोगको स्थापना हुन सम्भव भएको महामन्त्री शर्माको भनाइ छ ।
००००
जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधि सभा तर्फका सांसदहरुले मातृभाषामा शपथ लिने भएका छन् । 
जस अनुसार सांसद अशोक कुमार राईले किराँत राई बान्तवा भाषामा, रामसहायप्रसाद यादव र प्रदीप यादवले भोजपुरीमा शपथ लिनेछन् । 
यस्तै रञ्जु ठाकुरले मैथीली भाषामा सपथ लिने छिन् भने राजकिशोर यादव, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की र रेखा यादवले भने नेपाली भाषामा सपथ लिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । शपथ बिहीबार हुनेछ ।
००००
प्रदेश नंं १ मन्त्रिपरिषद्को बैठकले केही कार्यविधिसहित निर्देशिका स्वीकृत गर्नेलगायतका निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक बिजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई सम्मान गर्न आवश्यक बजेट स्वीकृत गरेको छ । यो निर्णयपछि निर्वाचन आचारसंहितालगायतका कारणले रोकिएको पदक विजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम अघि बढ्ने छ ।   
००००
प्रदेश १ सभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण पुस ११ गते हुने भएको छ । शपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा दिउँसो साढे १ बजे हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मंगलवार सूचना प्रकाशित गरी जानकारी दिएका छन् ।
००००
पार्टीको भातृ संगठनको एक युवतीलाई दुव्र्यवहार गरेको आरोप लागेका नेकपा  माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईं निलम्बित भएका छन् । अनेरास्ववियू क्रान्तिकारीकी एक महिला कार्यकर्ताको निवेदन र सामाजिक सञ्जालबाट पठाइएका अश्लिल ‘म्यासेज’को प्रतिलिपिसहित बागमती प्रदेश कार्यालयको सिफारिसका आधारमा उनलाई केन्द्रीय समितिबाट निलम्बन गरिएको माओवादीले जनाएको छ ।
००००
एक करोड ४ लाखको बेटिङ गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले फिफा वल्र्डकपको समयमा विभिन्न व्यक्तिहरूलाई बेटिङ गराउने एजेण्ट काठमाडौं महानगरपालिका–२० भिमसेनस्थानका ४३ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरेको हो ।
००००
नेपाल टेलिकमले अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानुनी झमेला पर्ने भएकाले पनि सचेत हुन टेलिकमले आग्रह गरेको हो ।
००००
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ चीनमा उपचार गराएर मंगलबार स्वदेश फर्किएका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनी तीन सातापछि नेपाल फर्किएका हुन् ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अंकले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ ।
००००
यस वर्षको ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् नेपाल विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्