३० असार २०८३, मंगलबार

मनग्य आम्दानी भएपछि नवलपुरका किसान मौरीपालनतर्फ आकर्षित

मनग्य आम्दानी भएपछि नवलपुरका किसान मौरीपालनतर्फ आकर्षित

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन् । हिउँदे यामको मह काढ्ने समय अहिले चलिरहेको छ । यस यामको मह काढ्ने समय कात्तिक महिनादेखि शुरु हुन्छ । जिल्लाका किसानले कात्तिक महिनामा दाङमा चराउन लगेको मौरीको मह काढेर सकेका छन् । अहिले जिल्लाभित्र नै चराउन राखिएका घारबाट मह काढ्न शुरु भएको छ । 

नवलपुरमा तोरी ढिलो फुल्ने भएकाले पहिलो चरणमा चरणका लागि किसानले अन्य जिल्लामा लैजाने गर्दछन् । पश्चिम नवलपरासीबाट दाङ, कपिलवस्तु, प्यूठानसम्म नवलपुरबाट मौरी चराउन लैजाने गरिएको छ । अन्यत्र चरनका लागि लगिएका मौरी अहिले जिल्लामा नै चरनका लागि तोरी फुलेपछि ल्याइएको नेपाल मौरीपालक महासङ्घ नवलपुरका अध्यक्ष यदुनाथ कँडेलले बताए । 

थोरै लगानीबाट व्यवसाय शुरु गर्न सकिने र अन्य व्यवसायभन्दा सहज हुने भएपछि नवलपुरमा मौरीपालनतर्फ किसानको आकर्षण बढ्दैगएको छ । बर्सेनि यो व्यवसायमा लाग्ने किसानको सङ्ख्या क्रमशः बढ्दैगएको अध्यक्ष कँडेलले बताए । उनका अनुसार जिल्लामा अहिले झण्डै डेढ सय किसान मौरीपालन व्यवसायमा आबद्ध छन् । व्यावसायिक रूपमा बाहेक थोरै घार मौरी पाल्ने किसानको सङ्ख्यासमेत धेरै रहेको छ ।

महको प्रयोग स्वाथ्यका लागि लाभप्रद भएकाले यसको माग बढ्दैगएको छ । कोभिड–१९ महामारीपछि महको खपत झन् बढेको छ । “महको माग बढ्दै गएको छ, यो मौरीपालक किसानका लागि खुशीको कुरा हो, यसले उत्पादित महको बजारीकरणमा समस्या हुँदैन, कोभिड –१९ पछि महको खपत झन् बढेको छ, किसान उत्साहित छन्”, अध्यक्ष कँडेलले भने । 

नवलपुरका आठ स्थानीय तहमध्ये देवचुली नगरपालिकामा मौरीपालन गर्ने किसानको सङ्ख्या धेरै छ । देवचुलीका कतिपय किसान विगत २७ वर्षदेखि मौरीपालन व्यवसाय गर्दैआएको अध्यक्ष कँडेलले बताए । मौरीपालन व्यवसायबाट मनग्य आम्दानी लिँदैआएको विगत दुई दशक अघिदेखि मौरीपालन गर्दै आएका राजेन्द्र रावलले बताए । आफूले उत्पादन गरेको महको बजारीकरणमा समस्या नभएको उनको भनाइ छ ।  

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको अनुदानमा उनले मह प्रशोधन केन्द्रसमेत स्थापना गरेका छन् । करिब रु ३३ लाखको लागतमा प्रशोधन केन्द्र स्थापना गरेपछि उत्पादित महलाई प्रशोधन गरेर बजार लग्न थप सहयोग मिलेको रावलले बताए । एक घारबाट सुरु गरेको मौरी पालन एक सय घार बढी पुगेको उनले बताए । एउटा घारबाट वार्षिक ४० देखि ६० केजीसम्म मह उत्पादन हुने उनको भनाइ छ । 

कावासोतीका मौरीपालक किसान चण्डिका लामिछानेका अनुसार मौरीपालनबाट पर्याप्त आम्दानी लिन सकिने भए पनि चरनको भने समस्या हुनेगरेको छ । स्थानीय रूपमा चरनको समस्या हुँदा विभिन्न ठाउँमा लैजानुपर्ने बाध्यता छ । तोरी फुल्ने समयमा केही सहज भए पनि अन्य याममा भने चरनका लागि समस्या हुनेगरेको उनले बताए । 

रुदिलो, फापर, फिलिङ्गे, सिलाम, सूर्यमुखी, धनियाँ, ज्वानो, मेथी, चिउरीजस्ता मौरीले रस पाउने बोटबिरुवा चरनका लागि ठिक हुने भए पनि कतिपय बोटबिरुवा पाउनै छाडिएको र किसानले खेती गर्नसमेत छाड्ने गरेकाले मौरीपालक किसानलाई समस्या हुनेगरेको लामिछानेले बताए ।  

नेपाल मौरीपालक महासङ्घ नवलपुरका अध्यक्ष कँडेलका अनुसार यस वर्ष  जिल्लामा करिब ३० मेट्रिक टन मह उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित मह स्थानीय बजारदेखि नजिकका शहरमा खपत हुनेगरेको उनको भनाइ छ । रासस

salt training

कमेन्ट गर्नुहोस्