
‘छाउपडी’को कथा उठान गरेर पाँच महिनाअगाडि सार्वजनिक गीत ‘लिलु’को सफलतापछि निर्माण युनिटले कास्ट एण्ड क्रु सहितको टिमलाई सम्मान गरेको छ ।
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘लिलु’मा संलग्न कलाकारहरूलाई सम्मान गरिएको हो ।
वरिष्ठ अभिनेत्री मिथिला शर्माको हातबाट उक्त कार्यक्रममा गायिका रेखा जोशी, निर्देशक गौरव गिरी, गायिका गौरी भट्ट, गायिका पूजा देवकोटा, मोडल रोशनी कार्की, कलाकार भद्रजंग कुवंर, गायक रोहित देउवाको साथमा टिम मेम्बर इस्वु संजेल, मुकेश सुनार र पशुपति कुवंरलाई सम्मान गरियो । गीतले युट्युवमा ११ लाख बढी भ्यूज पाएको छ । भिडियोलाई स्रोता एवं दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन् ।
भिडियो र गीतसँगै गीतमा जोडिएका शब्दले पनि राम्रो प्रतिक्रिया पाउँदा रचनाकार गौरव गिरी र एलपी शर्मा दङ्ग छन् । भिडियोका निर्माता समेत रहेका एलपीले सामाजिक विषयवस्तुमा बनेको ‘लीलु’ले हालसम्म पनि विद्यमान पश्चिमेली समाजको यथार्थ कथा बोल्ने भन्दै सामाजिक चेतनामूलक भिडियो बनाउन पाउँदा खुशी रहेको बताए ।
निजामती कर्मचारी समेत रहेका शर्मा छाउपडी प्रथा उन्मूलनका लागि धेरै कार्यक्रमहरु भइरहेको भए पनि अझै पनि यो प्रथा हट्न नसकेकोले सुदुरपश्चिम र मध्यपश्चिममा धेरै महिलाहरू पीडा भोग्न बाध्य भएको बताउँछन् ।
यसैबीच गायक रवि शर्मा र अनु चौधरीको स्वरमा नयाँ गीत ‘आस्था’ सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा रचनाकार शर्मा आफै अभिनयमा जोडिएका छन् भने उनको साथमा सुप्रिया बम ठकुरी, खुशी भट्टराई, मुकेश सुनार र विमल चौधरीलाई देख्न सकिन्छ ।
रवी शर्माको शब्दमा तयार गीतमा वसन्त कुवंरको छायांकन र वलवहादुर कुवंरको सम्पादन छ । गौरव गिरी भिडियोका निर्देशक हुन् । गिरीको निर्देशकिय क्षमताको तारिफ गर्दै कार्यक्रममा प्रमुख अतिथि रहेकी कलाकार शर्माले मुक्तकण्ठले प्रशंसा गरेकी थिइन् ।