३० जेठ २०८३, शनिबार

भक्तपुरमा १७९ मानवअधिकार हनन्का घटना, सम्बन्धविच्छेद गर्ने धेरै

भक्तपुरमा १७९ मानवअधिकार हनन्का घटना, सम्बन्धविच्छेद गर्ने धेरै

भक्तपुरमा मानव अधिकार हननका घटना बढ्दैगएको एक अध्ययनले देखाएको छ । अध्ययनअनुसार एक वर्षको अबधीमा यहाँ हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायतका १७९ वटा घटना भएका छन् । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले आयोजना गरेको एक वर्षे घट्ना सार्वजनिक एवं नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा इन्सेक भक्तपुर प्रतिनिधि रमेश गिरीले सो तथ्यांक सार्वजनिक गरेका हुन् ।  

इन्सेकले सङ्कलन गरेको तथ्यांकअनुसार सन् २०२२ जनवरीदेखि डिसेम्बर २१ सम्मको एक वर्षको अबधीमा बलात्कारको घट्ना बढेको पाइएको छ । यस अबधीमा महिला तथा बालिका गरी ५१ जना बलात्कारबाट पीडित भएका छन् । चार जना बलात्कार प्रयासबाट र तीन जना बालिका बाल यौन दुव्र्यबहारबाट पीडित भएका छन् । 

यस अबधीमा आठ जनाको हत्या भएको छ भने १५ जनाको हत्या प्रयास भएको छ । ७० जनामाथि अभद्र व्यबहार, एक जनामा जातीय छुवाछुतबाट पीडित भएका छन् ।

त्यस्तै, बहुबिवाहबाट १५ जना महिला पीडित भएका छन् । मानव बेचबिखनबाट पाँच जना, घरेलु हिंसाबाट चार जना, आत्महत्या दुरुत्सानमा चार जना पीडित भएका छन् । भक्तपुुरमा यो वर्ष १५३ जनाले आत्महत्या गरेका छन् । 

आत्महत्याको अबस्था बिकराल बन्दैगएको छ । १६८ जनाको यो वर्ष सम्बन्ध बिच्छेद भएको छ । त्यस्तै महिला, पुरुष र बालबालिका गरी यो वर्ष ४४४ जना हराएकोमा ४२४ जना फेला परेका छन् । यस अबधीमा गत वर्ष ८ जनाको हत्या, ३२ जना बलात्कारबाट, घरेलु हिंसाबाट ४८ जना पीडित भएका थिए । भक्तपुरमा बलात्कार, हत्या र आत्महत्या डरलाग्दो रुपमा बृद्धि भएको इन्सेक भक्तपुर प्रतिनिधि गिरीले बताए । 

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ७५ प्रतिशत हिंसा घरभित्र, आफन्त र चिनेजानेकाबाटै हुनेगरेको बताइन् । १८ वर्ष मुनिको बालिकाहरु बढी पीडित हुनेगरेको उनको भनाइ छ ।  बहुबिवाह र बालबिवाह लगायत महिला हिंसाबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको बताउदै मानव अधिकार संरक्षणका लागि घरबाटै सचेत हुनु पर्नेमा उनले जोड दिइन् ।  

स्थानीय तहले महिला, बालबालिकालगायत धेरै क्षेत्राधिकार पाए पनि त्यसलाई समूचित रुपमा व्यबस्थापन गर्न नसक्दा स्थानीय तहमा जानु पर्ने विषय जिल्ला प्रशासन कार्यालयमा आउने र त्यसको बहन गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक प्रजित केसीले बालश्रमका घट्ना प्रहरीसम्म नआउने गरेको बताउदै स्थानीय तहले त्यसमा निगरानी गर्नुपर्नेमा जोड दिए   

गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष नारायणप्रसाद न्यौपानेले संंविधानले दिएको मानव अधिकार कार्यान्वयन गर्न र अपराध नियन्त्रणमा राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार पुष्करराज बुढाथोकीले अपराध बढ्दै जाने तर त्यसको कारण पहिचान गरी घट्ना नियन्त्रणका लागि पहल नगर्ने हो भने अपराधमुक्त समाज बनाउन नसकिने बताए । 

चाँगुनारायण नगरपालिकाका सूचना अधिकृत नीला घिमिरेले स्थानीय तहले बालमैत्री नगरपालिका घोषणा गरेको बताउदै अब पालिकाहरुले आफ्नो वडामा मनोसामाजिक परामर्श सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको चर्चा गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्