
जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त (सीके) राउतले सरकारमा सहभागी हुन सबैतिरबाट प्रस्ताव आएको बताएका छन् ।
सांसदको शपथ लिन नयाँ वानेश्वरस्थित संसद भवन पुगेका राउतले सत्ता गठबन्धन र एमालेले सरकारमा सहभागीताको लागि अनुरोध गरेको बताए ।
अहिलेसम्म कस्तो सरकार बन्ने निर्क्यौल नभएको तर, जस्तो सरकार बने पनि आफ्नो सहभागिता रहने उनले बताए ।
‘कस्तो सरकार बन्छ भन्ने थाहा छैन । सरकार बन्छ भन्ने मात्रै बुझ्न सकिन्छ । न त लेफ्ट छ, न त राइट छ । जुनसुकै सरकार बने पनि त्यहाँ गएर जनताका माग पूरा गराउने मात्रै हो’, राउतले भने ।
पार्टीले सडक, सदन र सरकार गरी तीनवटै मोर्चाबाट जनताको माग पूरा गराउन लागिपर्ने राउतले बताए ।
‘जनतासँग गरेको बाचाप्रति इमान्दार रहेर, मेहनत गरेर त्यसलाई पूरा गर्ने गरी काम गर्नेछौं । त्यसका लागि सडक, सदन र सरकार तीनवटै मोर्चामा रहने छौं । तीन वटै मोर्चामा रहेर संघर्ष कसरी गर्ने भन्ने बारेमा सोचिरहेका छौं’, राउतले भने ।