२८ जेठ २०८३, बिहीबार
ओली-प्रचण्ड कानेखुसी

EXCLUSIVE : प्रचण्डलाई ओलीको प्रस्ताव– तपाईं तयार हुनुस् !

पुस ७, २०७९
EXCLUSIVE : प्रचण्डलाई ओलीको प्रस्ताव– तपाईं तयार हुनुस् !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् भवन परिसरमा बिहीवार माओवादी अध्यक्ष प्रचण्डसँग भएको छोटो कुराकानीमा सत्ता सहकार्यका लागि प्रस्ताव गरेको खुलेको छ ।

एउटै सोफामा बसेका ओली र प्रचण्डबीच भएको संक्षिप्त कुराकानीसँग जानकार विश्वस्त स्रोतका अनुसार ओलीले प्रचण्डलाई 'तयार हुनुस्' भनेका हुन् ।

'ओली कमरेडले प्रचण्डलाई तपाईं तयार हुनुस् भन्नुभएको हो,' विश्वस्त स्रोतले लोकान्तरसँग भन्यो, 'जवाफमा प्रचण्डले आनाकानी गरेजस्तो गर्नुभएको थियो । उहाँले थोरै अन्कनाउँदै तयार हुँदैछु भन्ने जवाफ दिनुभयो ।'

पढ्नुहोस्, सम्बन्धित समाचार :

नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेका बेला पुन: वामपन्थी गठबन्धनको चर्चा भित्रभित्रै चलिरहेको छ । त्यसो त प्रचण्डले औपचारिक रूपमा भने 'वर्तमान गठबन्धन कायमै रहन्छ' भन्ने गरेका छन् ।

प्रचण्ड वर्तमान गठबन्धन छाड्न तयार भए उनलाई प्रधानमन्त्री मानेरै भए पनि सहकार्य गर्न आफूहरू तयार रहेको एमालेका एक नेता बताउँछन् ।

त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवासँग अघिल्लो कार्यकालमा र अहिले भएको सहकार्यमा सहज अनुभव गरिरहेका प्रचण्ड तत्काल देउवाको साथ छाडिहाल्न तयार भइनसकेको स्रोतको दाबी छ ।

प्रचण्डले पहिलो कार्यकालको प्रधानमन्त्री नपाउने अवस्थामा भने वाम गठबन्धनको सम्भावना ब्यूँतिने नेताहरूको विश्वास छ ।​

बिहीवारको कुराकानी संसद् भवन परिसरमा चियापानका क्रममा भएको हो ।​ ओली र प्रचण्डले एकअर्कातिर फर्किएर थोरै कुरा गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाचाहिँ ओलीभन्दा एक 'स्टेप' परको सोफामा बसेका थिए । बीचको सोफामा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना थिए ।

तत्कालीन नेकपा भंग भएर एमाले तथा माओवादी पूर्ववत् अवस्थामा फर्किएपछि ओली र प्रचण्डबीच सौहार्दपूर्ण सम्बन्ध रहन सकेको छैन ।

यसबीचमा ओली र प्रचण्डबीच सम्बन्ध सुधारको प्रयास हुँदै गरेको चर्चा पनि चलिरहेको छ । चुनाव जितेलगत्तै ओलीले प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए ।

बुधवार राष्ट्रपति भवनमा ज्येष्ठ सांसद पशुपति शमशेर जबराको शपथमा पनि प्रचण्ड र ओलीबीच जम्काभेट भएको थियो ।

उक्त फोटो सार्वजनिक हुँदा वामपन्थी कार्यकर्ताहरूमा उत्साहको सञ्चार भएको सामाजिक सञ्जालमा सहजै देख्न सकिन्थ्यो ।

salt training

कमेन्ट गर्नुहोस्