
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिनै लाग्दा सत्ता गठबन्धनमा छलफल तीव्र हुन थालेको छ । बिहीबार नवनिर्वाचित सांसदहरुको शपथ सकिएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच छलफल भएको छ । बैठकमा नयाँ सरकार गठनका साथै महत्त्वपूर्ण पदहरुमा पावर सेयरिङका विषयमा छलफल केन्द्रित रहेको थियो ।
छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो कार्यकाल आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न सत्ता गठबन्धनभित्र औपचारिक प्रस्ताव गरेका छन् ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलका क्रममा प्रचण्डले यस्तो प्रस्ताव गरेको बालुवाटार स्रोतले जनाएको छ । प्रचण्डको उक्त प्रस्तावमा देउवाले छलफल गर्न सकिने जवाफ दिएको स्रोतको भनाइ छ ।
प्रचण्डको सचिवालयले बिहीबार सत्ताको भागबण्डाबारे सामान्य छलफल भएको र शुक्रबार फेरि बैठक बस्ने तय भएको जनाएको छ । बिहीबारमात्रै प्रचण्ड संसदीय दलको नेता चयन भएका थिए । यस्तै कांग्रेसका सभापति देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि आ–आफ्नो पार्टीबाट संसदीय दलको नेता चयन भइसकेका छन् । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा अब दुई दिनमात्रै बाँकी रहेको छ ।
००००
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको बैठकमा पहिलो कार्यकालको प्रधानमन्त्रीमा आफ्नो दाबी रहने ब्रिफिङ गरेका छन् ।
‘सरकार गठनका लागि छलफल चलिरहेको छ, कुरा सकारात्मक नै छ’, पार्टी केन्द्रीय कार्यायल पेरिसडाँडामा बिहीवार बसेको पदाधिकारी बैठकमा प्रचण्डको भनाइ उदृत गर्दै माओवादीका एक सचिवले लोकान्तरसँग भने ।
कांग्रेस संसदीय दलमा रामचन्द्र पौडेलले देउवालाई प्रस्ताव गर्नुले गठबन्धनमा सत्ता साझेदारीमा सहज संकेत देखिएको प्रचण्डले बताएका थिए ।
००००
प्रतिनिधि सभाका सदस्यहरुले बिहीवार शपथग्रहण गरेका छन् । प्रतिनिधि सभाका सबै सदस्यहरुले संसदका ज्येष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराबाट शपथग्रहण गरेका हुन् । ज्येष्ठ सदस्य जबराले भने बुधवार राष्ट्रपतिबाट शपथ लिएका थिए । संसदमा ८९ जना सांसदसहित नेपाली काँग्रेस सबैभन्दा ठूलो दल बनेको छ भने ७८ सांसदसहित नेकपा एमाले दोस्रो ठूलो दल र नेकपा (माओवादी केन्द्र) बाट ३२ जना सांसदसहित तस्रो ठूलो दल बनेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० जना, राप्रपाबाट १४ जना, नेकपा (एकीकृत समाजवादी) का १० जना, जसपाका १२ जना, जनमत पार्टीका ६ जना, नागरिक उन्मुक्ति पार्टीबाट ३ जना, लोसपाका ४ जना, स्वतन्त्र ५ जना, राष्ट्रिय जनमोर्चाबाट १, नेमकिपाबाट १ जना सांसद छन् ।
००००
राष्ट्रिय प्रजातन्त पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन थप शपथ लिएका छन् । बिहीवार संसद् भवनमा सांसद पदको शपथ दिने क्रममा उनले थप शपथ लिएका हुन् ।
उनले आफूले थप शपथ लिएको सामाजिक सञ्जालबाट जानकारी दिँदै शपथको व्यहोरा समेत सार्वजनिक गरेका छन् । उनले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’ भन्ने व्यहोराको शपथ लिएका हुन् ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन् । प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
००००
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूप्रति आक्रोशसँगै आशाका रुपमा आफूहरूले मतदाताले मत हालेको बताएका छन् । शपथ लिएपछि पत्रकारहरूसँग कुरा गर्दै मतदाताहरूले आफूहरूलाई आशाको मत दिएका दाबी गरेका हुन् ।
००००
यसैगरी अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पहिलो पालोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् । सांसदको शपथ लिन संसद भवन नयाँ बानेश्वर पुगेका शर्माले गठबन्धन बैठकमा सल्लाह गरेरै प्रधानमन्त्री तय गरिने बताए ।
यसैगरी जनमत पार्टीका अध्यक्ष तथा सांसद डा चन्द्रकान्त (सीके) राउतले सरकारमा सहभागी हुन सबैतिरबाट प्रस्ताव आएको बताए ।
००००
नेकपा एमालेले जनताले दिएको जनादेशलाई कदर गर्दै अगाडि बढ्ने निर्णय गरेको छ । बिहीबार भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको एमाले सचिवालय बैठकले निर्वाचनको जनादेशअनुसार पार्टीले भूमिका निर्वाह गर्दै अगाडि बढ्ने निर्णय गरेको ओलीको सचिवालयले जानकारी दिएको छ ।
००००
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि पुस १३ गते निर्वाचन हुने भएको छ । बिहीबार चन्द्र महर्जनको संयोजकत्वमा रहेको निर्वाचन समितिले संसदीय दलको कार्यालय, हेटौंडा परिसरमा निर्वाचन गर्ने निर्णय गरेको हो । समितिले पुस १३ गते दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि मतदानको समय निर्धारण गरेको महर्जनले बताए ।
००००
कर्णाली प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शनिवार निर्वाचन हुने भएको छ । निर्वाचन समितिले शुक्रवारदेखि निर्वाचन कार्यक्रम शुरू हुने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।
००००
पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार यात्रुसहित दुई विमान अवतरण भएका छन् । निजी क्षेत्रका अग्रणी विमान कम्पनी बुद्ध एयरलाइन्स र यति एयरलाइन्सले आफ्नो परीक्षण उडान गरेका हुन् ।
००००
हिमालय एयरलायन्सको पाउँदै आएको ग्राउन्ड ह्यान्डलिङको अधिकार स्थगित छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले एयरलाइन्सलाई एक पत्र पठाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग प्रयोजनका लागि इक्यूमेन्ट यन्त्र उपकरण आदि व्यवस्थापन गर्न हाल स्थान उपलब्ध गराउने अवस्था नरहेको जनाएको छ ।
००००
भारत सरकारले नेपाललाई गहुँ आयात गर्न अनुमति दिएको छ । भारतले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएको भए पनि बुधबार भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो ।
००००
नेपाल क्रिकेट संघको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको छ । यही पुस ८ गतेदेखि शुरु हुने भनिएको उक्त प्रतियोगिता अब पुस ९ गतेदेखि शुरु गरिने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । उनले केही प्रविधिक कारणले प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको बताए । उक्त प्रतियोगिताको मिति सरेको यो तेस्रो पटक हो । यसअघि असोज ८ र मंसिर २६ गते उक्त प्रतियोगिता सञ्चालन गर्ने तय भएको थियो ।
००००
बंगलादेशमा भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ ।
बंगलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको हो । बंगलादेशसँग नेपाल पहिलो सेटमा २६–२४ ले पराजित भयो भने दोस्रो सेटमा २५–२२ ले पराजित भयो ।