२६ असार २०८३, शुक्रबार

बालगायक सचिन परियारको स्वास्थ्यमा समस्या, आईसीयूमा उपचार हुँदै

बालगायक सचिन परियारको स्वास्थ्यमा समस्या, आईसीयूमा उपचार हुँदै
तस्वीर : सामाजिक सञ्जाल

एक समय निकै भाइरल भएका बालगायक सचिन परियारको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको छ ।

काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरेर उनको उपचार गरिएको छ ।

आईसीयूमा उपचार भइरहेको उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ ।

परिवारको कमजोर आर्थिक अवस्था भएका कारण उनलाई अनामनगरस्थित एक स्कुलले होस्टेलमा राखेर निःशुल्क पढाउँदै आएको थियो । स्कुलमा अचानक बिरामी भएपछि उनलाई अस्पतालमा भर्ना गरेर उपचार गरिएको हो । छोरो विरामी भएसँगै पोखरामा रहेकी उनकी आमा काठमाडौं आएकी छिन् ।

आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि आर्थिक सहयोग गरिदिन आमाले अनुरोध गरेकी छिन् । ‘१२/१३ वर्षको बाबु ३/४ वर्षको जस्तो भएको छ । एउटा आँखाले मात्रै हेर्छ । बोल्दै बोल्दैन्’ सचिनकी आमाले याचना गरेकी छिन् ‘सबैले माया गरेको बाबु हो । अहिले उ एकदमै विरामी छ । मसँग उपचारका लागि पैसा छैन् । सचिनको लागि सबैले सहयोग गरिदिनुहुन भन्छु ।’

उपचारका लागि केही सञ्चारकर्मी एवं लोकदोहोरी कलाकारहरूले आर्थिक संकलन गरेर सचिनकी आमालाई बुझाएका छन् ।​ 

सचिनको स्वास्थ्य अवस्थालाई लिएर कलाकारहरूले सामाजिक सञ्जालमा चिन्ता व्यक्त गर्दै स्वास्थ्यलाभको कामनासहित सहयोगको लागि समेत आग्रह गरेका छन् । सचिनले लोकदोहोरी गीत गायन, अभिनयदेखि टेलिसिरियलसम्ममा अभिनय गरेका थिए ।

अभिनेता राजेश हमालसँग समेत म्युजिक भिडियोमा अभिनय गरेका उनको भिडियोले युट्युबमा लाखौं भ्युज पाउने गरेका थिए । पछिल्लो दुई वर्षयता भने उनी गुमनामजस्तै थिए ।

salt training

कमेन्ट गर्नुहोस्