स्वास्थ्यमा समस्या देखिएपछि टिचिङ अस्पतालको आईसीयूमा उपचार गराइरहेका बाल गायक सचिन परियारको उपचारका लागि आर्थिक सहयोग गर्नेहरू बढेका छन् ।
सञ्चारकर्मी सहित केही लोकदोहोरी कलाकारहरूले अस्पताल पुगेर परियारको आमालाई नगद रकम हस्तान्तरण गरेका छन् । यस्तैमा चर्चित कार्यक्रम ‘ईन्द्रेणी’का संचालक कृष्ण कंडेलले अस्पताल पुगेर सचिनकी आमालाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।
अस्पताल पुगेका कलाकारहरूले उपचार खर्च जुटाउन पहल समेत गरिरहेका छन् । सचिनको स्वास्थ्यमा सुधार नदेखिएको र उनी बोल्न समेत सक्ने अवस्थामा नरहेको उनलाई भेटन पुगेकाहरूले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
अस्पतालमा सचिनको रेखदेख गरिरहेकी उनकी आमाले पनि उपचारमा सघाउन अपील गरेकी छिन् । परिवारको कमजोर आर्थिक अवस्था भएका कारण उनलाई अनामनगरस्थित एक स्कूलले होस्टेलमा राखेर निःशुल्क पढाउँदै आएको थियो ।
अचानक बिरामी भएपछि उनलाई बिहीवार अस्पतालमा भर्ना गरिएको हो । सामाजिक सञ्जालमा एकाएक भाइरल भएसँगै सचिनले लोकदोहोरी गीत गाउनुका साथै, अभिनयदेखि टेलिसिरियलमा समेत अभिनय गरेका थिए । उनले गाएका, अभिनय गरेका एवं दिएका अन्तवार्ताहरूले युट्युबमा लाखौं भ्युज पाउने गरेका थिए । अभिनेता राजेश हमालसँग समेत म्युजिक भिडियोमा अभिनय गरेका उनी पछिल्लो दुई वर्षयता भने गुमनामजस्तै थिए ।