
मेगा बैंक नेपाल लिमिटेडको वार्षिक साधारणसभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । बिहीवार काठमाडौंमा सम्पन्न मेगा बैंकको १२औं वार्षिक साधारणसभाले मूल्यांकनकर्ताबाट प्राप्त दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनअनुसार संयुक्त मर्जर समितिको सिफारिसमा अनुमति प्रदान गरेकाे हाे ।
मेगा बैंकको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम मेगा बैंकको १०० कित्ता शेयर बराबर मेगा बैंकका शेयरधनीहरूलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः९०) मा एक आपसमा गाभ्ने/गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गर्ने निर्णय गरेको छ।
योसँगै नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जरको बाटो खुलेको छ । दुवै बैंक एक आपसमा गाभिई संयुक्त कारोबार गर्ने, बैंकको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहने छ ।
साधारणसभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरपछि दुवै बैंकको नाम र कामअनुसारको गरिमालाई उँचो बनाउन दुवै बैंकमा रहेका असल परम्परा संस्कार, ग्राहकहरूको सेवा, कर्मचारीहरूको मिलान र व्यवस्थापन तथा शेयरधनीहरूको जेथा र लाभांशमा न्यायोचित वृद्घि र निरन्तरता दिइने विश्वास व्यक्त गरे ।
‘हामीले ‘हलोदेखि हाइड्रो’सम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौँ, सोहीअनुरुप सबैभन्दा बढी शेयरधनी भएको बैंक र सबभन्दा बढी रु. २३३ करोड चुक्ता पूँजी भएको बैकको रुपमा मेगा बैंक स्थापना भयो । त्यही मौलिकतालाई आत्मसात गर्दै हामीले नयाँ रुपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेका थियौँ, मर्जरपछि बन्ने नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड देशकै ठूलो बैंक बन्ने विश्वास लिएको छु’, अध्यक्ष शाहले भने ।
यसैगरी, साधारण सभाले शेयरधनीहरूका लागि बोनस शेयरसहित ७.७९ प्रतिशत लाभांश पारित गरेको छ । आ.व. २०७८/०७९ सम्म सञ्चित भएको वितरणयोग्य रकम १,२६,३०,५९,५२०.८ं० रुपैंयाबाट हाल कायम चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४५३ रुपैंया ३६ पैसाको ४ प्रतिशतले हुन आउने रकम अक्षरेपी ६४ करोड ४८ लाख १८ हजार ४ सय ५८ रुपैंया १३ पैसा बोनस शेयर लाभांश र ३.७९ (राउन्डिङ्गमा) प्रतिशतले हुन आउने रकम रु. ६१ करोड २ लाख ४३ हजार २ सय ८० रुपैंया ६६ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको हो ।
साधारणसभालाई सम्बोधन गर्दै मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले मेगा बैंकले लिएको हलोदेखि हाइड्रोसम्म नारा सार्थक र सफल भएको बताइन् । आर्थिक समावेशितालाई प्राथमिकता दिँदै जनताको घरदैलोमा बैंकको सेवा पुर्याई शहरदेखि दूरदराजका गाउँसम्मका आममानिसको बैंक बनाउने उद्देश्यबाट अभिप्रेरित भएर स्थापना भएको मेगा बैंकले वित्तीय बजारमा उत्कृष्ट छविको परिचय बनाउनुका साथै भरोसा र विश्वास आर्जन गर्न सफल भएको उनले बताइन् । आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै मेगा बैंकले ग्राहकहरूलाई अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा प्रदान गरिरहेको कामु सिइओ श्रेष्ठले बताइन् ।
कामु सिइओ श्रेष्ठले मेगा बैंकको वित्तीय परिसूचक सन्तोषजनक रहेको बताइन् । उनका अनुसार, चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप ९५ करोड रुपैंयाले वृद्धि भई १ खर्ब ५७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यसैगरी, कर्जा ३ अर्ब ९१ करोड रुपैयाँले वृद्धि भई १ खर्ब ५३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।
गत त्रैमासमा बैंकले ५० करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यसैगरी, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब ६ अर्ब ३ करोड रुपैंया सहुलियत कर्जा र ५ अर्ब १९ करोड रुपैंया पुनर्कर्जाहरू प्रवाह गरेको छ ।
बैंकलाई थप मजबुत एवं प्रतिस्पर्धी बनाउन, व्यवसायको दायरा एवं आकारमा वृद्घि गर्न, शाखा तथा सञ्जालहरूको विस्तारलाई मेगा बैंकले अगाडि बढाउँदै आएको छ । जसअन्तर्गत २०७८/०७९ मा मेगा बैंकले २१ वटा नयाँ शाखा र १ वटा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याई ९ वटा एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नति गरिएको छ । हाल बैंकको २०८ शाखा, २७ वटा एक्स्टेन्सन काउण्टर रहेका छन् ।