
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारीमा निर्माण भएको १५ शय्याको ‘हल्दिबारी आधारभूत अस्पताल’को उद्घाटन गरेका छन् ।
हल्दिबारी गाउँपालिकाको हाताभित्र सञ्चालनमा आएको अस्पतालबाट बहिरङ्ग सेवासहित १५ प्रकारका सेवा उपलब्ध हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए ।
अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम, आकस्मिक स्वास्थ्य सेवा, प्रयोगशाला, फार्मेसी, ईसीजी, एकीकृत बालरोग तथा नवजात शिशु व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजन लगायतका सेवा प्राप्त हुने प्रमुख निरौलाले बताए ।
स्वास्थ्य सेवा प्राप्त गर्न गाउँपालिकावासी अन्यत्र धाउनुपर्ने अवस्था अन्त्य गर्न आधारभूत अस्पताल सञ्चालन ल्याइएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बताए । ‘सामान्य उपचारका लागि पनि अन्यत्रै धाउनुपर्ने अवस्था अन्त्य भएको छ,’ उनले भने, ‘त्यसमा पनि स्वास्थ्य सेवा अत्यन्तै महंगो र सर्वसाधारणको पहुँचभन्दा बाहिर गइरहेकाले सोको अन्त्यका लागि अस्पताल सञ्चालनमा ल्याएका हौं ।’
स्वास्थ्य बीमा कार्यक्रमको प्रथम विन्दुका रूपमा अस्पताल सञ्चालनमा आएको उनले बताए । अस्पतालमा १ जना मेडिकल अधिकृतसहित ९ जना जनशक्ति रहेको छ । हल्दिबारीमा ३ वटा स्वास्थ्य चौकी र २ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त बजेटअनुरूप हल्दिबारी–१ अस्पतालको भवन निर्माण भइरहेको छ । ३३ हजार गाउँपालिकावासीको स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न १८ करोड रुपैयाँको लागतमा निर्माणाधीन अस्पताल भवनको करीब २५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । सोही अस्पताल अन्तर्गत अस्थायीरूपमा हल्दिबारी गाउँपालिकाको स्रोतसाधन प्रयोग गरी हल्दिबारी–५ स्थित हल्दिबारी गाउँपालिकको हाताभित्र ‘हल्दिबारी आधारभूत अस्पताल’ सञ्चालनमा आएको छ ।