२८ जेठ २०८३, बिहीबार
राजनीति

लाभको पदबाट सधैं टाढा रहेका छविलाल

पुस ९, २०७९
लाभको पदबाट सधैं टाढा रहेका छविलाल

नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा दलित समुदायबाट प्रत्यक्ष चुनाव जित्ने एकमात्र प्रतिनिधिसभा सदस्य हुन् । उनलाई नजिकबाट चिन्नेले इमान्दार, भद्र र शालिन राजनीतिज्ञ भन्छन् ।

लाभको पद र प्रतिष्ठाभन्दा टाढै रहेका विश्वकर्मा रूपन्देही–१ बाट आफ्ना पूर्व सहयात्री घनश्याम भुसाललाई पराजित गरी दोस्रोपटक यहीँ क्षेत्रबाट ‘माननीय’ बनेका छन् । पार्टी स्थायी कमिटी सदस्य रहेका विश्वकर्मा १ वर्षअघि चितवन महाधिवेशनबाट सर्वसम्मत पार्टीको सचिवमा चुनिएका थिए । अघिल्लो चुनावमा प्रतिनिधिसभा सदस्यमा ३ जनाले जीत निकाले पनि अहिले उनी मात्र दलित समुदायबाट प्रत्यक्ष चुनाव जितेका छन् । 

हरेक अप्ठ्यारोमा अध्यक्ष केपी शर्मा ओलीलाई दह्रो साथ दिँदै आएका उनी एमाले पार्टी इतिहासमा पदाधिकारी बन्ने पहिलो दलित पनि हुन् । संविधानले सुनिश्चित गरे पनि दलितहरूको समानुपातिक प्रतिनिधित्व खस्किँदै गएको छ ।

उनी भन्छन्, ‘समावेशिताको दिशा सही छ तर अभ्यासमा जान सकेका छैनौं ।’ दलित समुदायको आर्थिक हैसियत र पहिचान उठाउँदै पछाडि परेका क्षेत्रमा राज्यबाट अझै पनि ध्यान पुग्न नसकेको भन्दै आफू त्यसमा केन्द्रित हुने उनको योजना छ । 

ओली २ पटक प्रधानमन्त्री बन्दा पनि उनी लाभको पदमा पुगेनन् । ओलीसँग लामो समयदेखि निकट रहेका अन्य नेताहरू पदीय लाभमा पुग्दा विश्वकर्मा चुप रहे । उनी २०६२/०६३ को परिवर्तनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा केही समय कृषि तथा सहकारी मन्त्री बनेका थिए । संसदमा शपथ लिएपछि उनले भने, ‘कार्यकारी भूमिकाप्रति मैले कहिल्यै ध्यान दिइनँ । सामाजिक र राजनीतिक भूमिकामा निरन्तर सक्रिय रहें । लाभको पद मलाई चाहिन्छ भन्दिनँ । त्यो नेतृत्वले बुझ्ने कुरा हो ।’ समाजलाई समिश्रणबाटै जातीय विभेद अन्त्य गरिनुपर्ने उनको बुझाइ छ । 

एमाले लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका उनी जातीय उत्पीडनविरुद्ध समतामूलक समाज निर्माणका अविश्रान्त अभियन्ताको रूपमा परिचित छन् । समाजमा रहेका विद्यमान असमानता र तत्कालीन परिवेशका बाछिटालाई समेत मनन् गर्दै आधारभूत जनताको आवश्यकता पूरा गर्न आफैं सधैं सक्रिय रहेको उनी बताउँछन् ।

सामाजिक एकता सहितको वर्गीय पक्षधरता

सामाजिक एकता सहितको वर्गीय पक्षधरता देखिन्छ विश्वकर्मामा । मानव उद्विकासको सिद्धान्तले मानिसको उत्पत्ति जातबाट भएको बताउँदैन । डार्बिनले प्रतिपादन गरेको वैज्ञानिक सिद्धान्तले पनि विकसित, ठिमाहा र कम विकसित वा अविकसित भनेर मात्र छुट्याउँछ तर तत्कालीन समाजमा यस्ता धेरै विषयका कारणले कैयन् समुदाय उत्पीडित हुनुपरेको छ । यस्तो उत्पीडन भोगेका, सुनेका, देखेका कारणले छविलाल उत्पीडनविरुद्ध समानतामूलक समाज निर्माणमा होमिएका हुन् ।

समानता र जातिभेदमुक्त सामाजिक मान्यताको पक्षमा लाग्न उनले सबैलाई समेटे । जातपातको विभेद र छुवाछुत अन्त्य गर्ने अभियानको शुरूआत गर्नेमध्येमा उनी पनि एक अगुवा हुन् । अनेक नामका भेदभाव र उत्पीडनको अन्त्य गरी मानव मर्यादा र सामाजिक न्याय सहितको समुन्नत समाज निर्माण गर्नु नै अहिलेको मुख्य कार्यभार रहेको उनको ठहर छ । 

सामान्य परिवारको उज्यालो यात्रा 

२०१९ मंसिरमा स्याङ्जाको कृष्ण गण्डकी गाविस–१ बलाम मैदानमा विश्वकर्माको जन्म भएको थियो । ७ वटा सन्तानमध्ये छविलाल जेठो सन्तान हुन् । निम्न मध्यमस्तरको परिवारमा उनको बाल्यकाल एउटा सामान्य कृषकका छोराछोरीझैं बित्यो । गाउँमा सबै गैरदलित हेपाहा थिएनन्, जसले छविलालको क्षमता बुझेका थिए, तिनले भित्रभित्रै समाज सुधारका अभियानमा साथ दिन्थे र भन्थे, ‘अगाडि बढ्, हामी छौं ।’

विक्रम संवत् २०३५ सालमा गणेश जनता माविबाट प्रवेशिका पास गरी उच्च शिक्षा हासिल गर्न छविलाल बुटवल बहुमुखी क्याम्पसमा आए । तत्कालीन समाजको थिचोमिचो र विभेद व्यवहार भोगेका, झूटा मुद्दा लागेका कारणले छविलालमा सानैदेखि त्यस व्यवस्थाविरुद्ध विद्रोही स्वभाव जागेको थियो । लडाइँ सिक्ने भन्दै साथीहरूसँगै भारतीय सेनामा भर्ना भएर केही समय बिताएपछि छाडेर घर फर्किए उनी । त्यहाँ सिकेका सीपलाई गाउँ र समाजमा अरू साथीहरूलाई संगठित गर्दै तत्कालीन व्यवस्थाविरुद्ध केन्द्रित गर्ने अभियान चलाए ।

खेलकुदमार्फत अभियान विस्तार

खेलकुदमा विशेषगरी भलिबलमा उनको निकै दक्खल थियो । राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरको खेलाडी र प्रशिक्षकसम्म बनेर खेलकुदको विकासमा लागे उनी । खेलकुदकै नेतृत्व गर्ने क्रममा राखेप सदस्य र सिन्जेन कराँते संघको उपाध्यक्ष बनेका थिए । त्यसपछि ग्रामीण जनसेवा विकास समिति नामको संस्था गठन गरेर जागरण अभियान सञ्चालन गरे । युवाहरूको संस्थामार्फत तमसुक च्यात्ने र सामन्ती शोषणविरुद्ध जुझारु अभियान चलाए । यसमा अनेकौं कठिनाइ आइलागे, त्यसैले उनी प्रवास (भारत) तर्फ लागेका थिए । 

प्रवास बसाइ र सैनिक जीवनले केही थप ज्ञानआर्जन गरायो उनलाई । सैनिक तालिम, खेलकुद प्रतिस्पर्धा र हातहतियार सम्बन्धी ज्ञानले आत्मविश्वास बढायो । अनेरास्ववियूको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनमा बुटवल बहुमुखी क्याम्पसमा उपाध्यक्ष, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, स्याङ्जाको जिल्ला सदस्य हुँदै दलित समुदायको उत्पीडनको अन्त्यका लागि सक्रिय अभियान सञ्चालनमा लागे उनी । दलित समुदायको मुक्तिका लागि छविलालको अथक प्रयास हिजो पनि थियो, आज पनि छ र आउँदा दिनमा पनि रहने छ ।

उत्पीडन विरुद्धको साझा नेतृत्व

राष्ट्रिय समाज कल्याण संघ सदस्य (२०३९), उत्पीडित जनजातीय मुुक्ति मोर्चा लुम्बिनी संस्थापक सदस्य (२०४५), उत्पीडित जातीय उत्थान मञ्च, केन्द्रीय उपाध्यक्ष (२०४७), नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज केन्द्रीय सदस्य (०४८), समाजको केन्द्रीय महासचिव (२०५१), नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय अध्यक्ष (२०५४) आदि संस्थामा आबद्ध भई उनले नेतृत्वदायी भूमिका निर्वाह गरे ।

भारतको पटियाला पञ्जाबबाट स्नातक तहको शिक्षा पूरा गरेपछि उनको थप औपचारिक शिक्षा अघि बढ्न सकेन । तथापि स्वध्ययन नियमित भयो । साहित्यमा पनि रूचि राख्दै मानव मर्यादाका गीतहरू (पुस्तक) र त्यसैको गीति एल्बम पनि प्रकाशन भएका छन् उनले । ‘नव समानता’ नामक पत्रिकाको प्रधान सम्पादक र प्रकाशक समेत बनेर काम गरे उनले । 

उत्पीडित समुदायबाट हुर्के 

पार्टीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने छविलालले लामो समयसम्म पार्टी विस्तार एवं संगठनको क्रममा देशका विभिन्न भागका साथै प्रवास (भारत) मा समेत सेवा गरेका छन् । एमालेको केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य, स्थायी कमिटी सदस्य हुँदै हाल केन्द्रीय कमिटी सचिव भएका छन् ।

कृषि तथा सहकारी मन्त्री हुँदा केही कामको जग बसाल्न सफल भए उनी । संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्य हुँदा समाज सुधार र समतामूलक सभ्य समाज निर्माणमा उनका अभिव्यक्ति र कार्यक्रम केन्द्रित रहे । 

विभेद भोग्दै, समाज बदल्दै

विभेद भोग्ने कैयन् सिलसिला थिए तर त्यसबेला भोगेका विभेद मध्येका केही घटनामा नवलपरासीको जहँदामा स्थानीय दलितले पूजा गर्न मन्दिर प्रवेश गर्दा कुटपिट भयो र दलितलाई गैरदलितले दण्डसजाय पनि दिए । त्यो घटनामा तत्कालीन प्रशासन मौन रह्यो ।

स्याङ्जामा (उदिया चौर) दलित समुदायले उत्पादन गरेको दूध दुग्ध विकास संस्थानले किन्न मानेन । स्याङ्जाको जगत्रदेवी मन्दिरमा दलितहरू प्रवेश गर्दा ठूलै आतंक मच्चियो । स्थानीय केही गैरदलितले प्रतिकार गरे । यस्ता घटनाविरूद्ध निकै ठूलो आन्दोलन चर्कियो । विभेद भोग्दै र त्यसबाट समाज बदल्दै अघि बढ्ने अभियानमा उनको नेतृत्वदायी भूमिकामा रह्यो ।

समाज सुधारका धेरै काम अझै बाँकी

‘एकाध दलितहरूलाई सांसद वा मन्त्री बनाउँदैमा समावेशी भयो भन्नुहुन्न र यत्तिकैमा दलितहरूले चित्त बुझाउन मिल्दैन । पहाडी परिवेश र तराईको परिवेशमा पनि अझै केही भिन्नता छ, धनी र गरीबका नाममा पनि विभेद र भिन्नता छ,’ उनले भने, ‘यसलाई सुधार्नुपर्नेछ । दलित समुदायको हीन सोंचको मानसिकता र कतिपय गैरदलितमा रहेका विभेदका स्वभावलाई बदल्दै सामाजिक न्याय, समानता र समुन्नत समाज निर्माण गर्नुपर्नेछ ।’

दलित, गैरदलित सबैको साझा पहल र प्रयन्तबाट नै समाज बदल्न सकिन्छ र अधिकारसँगै सबैले कर्तव्यको पालना गर्दा नै सभ्य समाज बनाउन सकिन्छ भन्ने विश्वास छ छविलालमा ।

salt training

कमेन्ट गर्नुहोस्