२१ जेठ २०८३, बिहीबार

दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस एकल संख्यामा देखियो

दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस एकल संख्यामा देखियो

विवेक मिश्र

दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो ।

असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउनेक्रम जारी रहन्छ । चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ । देशभरि पाइने आठ सय ८८ चरामध्ये हाल यहाँ पाँच सय ३१ चरा फेला परिसकेका छन् । 

यसै वर्ष पनि करिब ७० प्रजातिका चरा कोसीटप्पु आइसकेका छन् तर विगतका वर्षमा यतिखेरसम्ममा सयभन्दा बढी प्रजातिका चरा आइसक्ने गरेको चराविज्ञ अनिश तिम्सिनाले बताए । “अझै चरा आउने समय बाँकी रहे तापनि विगत वर्षको तुलनामा कमी आएको छ” उनले बताए । ठूलो सिलसिले हाँसजस्तै अन्य थुप्रै चरा कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आउन छाडिसकेका छन् । प्रजातिका हिसाबले प्रतिनिधिमूलक उपस्थिति रहे तापनि सङ्ख्यात्मक हिसाबले बाह्य पर्यटक चराको उपस्थिति घट्नुले चिन्तित बनाएको तिम्सिनाले बताए । राज्यका स्थानीय तहले जैविक विविधता महत्वपूर्ण पाटो हो भन्ने बुझेर काम गरिदिन जरुरी रहेको उनको सुझाव छ ।  

“मानव बस्ती र मानवीय व्यवहारले हैरानी खेप्नु नै मुख्य रुपमा पर्यटक चरा आउन ह्रास भएको हुनसक्छ”, कोसीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष राजकुमार सिंहले बताए । उनका अनुसार सिमसारमा ढपक्कै ढाकिएको जलकुम्भी, ‘म्याइकेनिया’ जस्ता वनस्पतिले हाँस प्रजातिका चरालाई असर गरेको र सिमसार आसपासका क्षेत्रमा विषादीको प्रयोगले जोखिम रहेको छ । बगेको पानीभन्दा जमेको पानीमा बस्न रुचाउने हाँस प्रजातिका चरा माछा मार्न आउने मान्छेसँग डराएर भाग्ने गरेका छन् । आरक्ष क्षेत्रमा लाइसेन्स लिएर माछा मार्न अनुमति दिने गरिएको छ । जसको जोखिम चरालाई परेको छ । चरालाई उचित वासस्थान र पर्याप्त आहराको कमी अर्को समस्या रहेको छ । 

उत्तरी ध्रुवमा हिमपातको शुरुवात् सँगै हिउँद यामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँसरी आउँछन् । बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउनेगरेको तथ्याङ्क छ । 

करिब पचास प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलङ्कातिर जान्छन् । जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदिशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन् । यसरी जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा शिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राई आदि पर्दछन् ।

दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रिष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् । आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । 

उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य वासस्थान भने वन र यस आसपासका घाँसे मैदान तथा कृषि भूमि हुन् । रासस

salt training

कमेन्ट गर्नुहोस्