२१ जेठ २०८३, बिहीबार

तानसेनको चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र

तानसेनको चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र
प्रतिकात्मक तस्वीर

पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत लगायत जिल्लाका किसानको कृषिउपज भण्डारण गर्न निर्माण शुरू गरिएको चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र छ । 

तानसेन नगरपालिका–७ बाघखोरमा २ वर्षमा सक्ने गरी निर्माण शुरू भएको चिस्यान केन्द्रको १० वर्षमा २७ प्रतिशत मात्र काम सकिएको छ । ३३ फिट अग्लो, २६ मिटर लम्बाइ र १४ मिटर चौडाइको चिस्यान केन्द्र, २ हजार टन कृषिउपज राख्न सकिने क्षमताको छ । भारतीय राजदूतावासको सहयोगमा निर्माण थालिएको हो । ४ करोड ९९ लाख ९१ हजार ९०५ मा सम्झौता भएको थियो । विक्रम संवत् २०६९ फागुन २३ गते सम्झौता गरेको निर्माण कम्पनीले २०७१ जेठ २३ गते काम सक्ने लक्ष्य थियो । १० वर्षमा निर्माण कम्पनीले २७ प्रतिशत मात्र भौतिक प्रगति गरेको तानसेन नगरपालिकाका प्राविधिक टीकाराम सोमैले जानकारी दिए ।

‘निर्माण कम्पनीले काम नै गरेन, ५ पटक म्याद थप गरिसकेका छौं,’ सोमैले भने, ‘फेरि म्याद थपको लागि आएको छ, काम गर्छन् भन्नेमा विश्वस्त हुन सकिएको छैन ।’

यस क्षेत्रमा तत्काल बजारमा खपत हुनेभन्दा बढी उत्पादन भएका तरकारी, फलफूल, अदुवा, दूधलगायत कृषि उत्पादन भण्डारण गर्न किसानको मागअनुसार केन्द्र निर्माण शुरू गरिएको थियो । तानसेनमा सो केन्द्र निर्माण पछि उत्साही यहाँका कृषक निर्माण कार्यमा भएको ढिलाइले पुनः निरुत्साही भएका छन् । 

निर्माण कम्पनी हिमडुंग एन्ड थोकर र जय रक्तकाली जेबीले तानसेन नगरपालिकाबाट २ करोड बढी रकम भुक्तानी लगेका छन् । आर्थिक सहयोग गरेको भारतीय राजदूतावासले चिस्यान केन्द्रको अवलोकन गरेको छ । दूतावासका द्वितीय सचिव प्रशान्त सोनाले निर्माण कार्य शुरू गर्न अनुरोध गरेका तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिए । समयमा काम सम्पन्न नभएपछि तानसेन नगरपालिकाले पूर्व निधारित क्षतिपूर्ति ४८ लाख रुपैयाँ रकम तिर्न निर्माण कम्पनीलाई पत्राचार गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्