
काठमाडौं महानगरपालिकाभित्रका अनधिकृत बस्ती हटाउने महानगरपालिकाको प्रयासलाई उपत्यकाका नेवार समुदायहरुले समर्थन गरेका छन् । शनिवार काठमाडौं उपत्यकाका नेवार समुदायहरुले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएका हुन् ।
नेवा समुदायले काठमाडौंका विभिन्न नदी किनारमा घर, टहरा बनाइ बसोवास गर्दै आइरहेका अनधिकृत बस्ती हटाउन महानगरपालिकाले गरेको प्रयासमा काठमाडौंका बासिन्दाहरूको समर्थन रहेको बताए । उनीहरूले काठमाडौं महानगरपालिकालाई समस्यामुक्त बनाउन महानगरले चालेको अनधिकृत बस्ती हटाउने कुरामा स्ववासीहरूको पूर्ण समर्थन रहेको बताए ।
कार्यक्रममा बोल्दै नेवाः जातीय महासंघका अध्यक्ष मनोज खड्गीले काठमाडौं महानगरपालिकाका धेरै ठाउँमा सुकुम्बासी र स्वाबासीहरू अनधिकृत रूपमा बसोबास गरिरहेकाले सबैलाई काठमाडौंको जग्गा वितरण गर्न नसकिने भन्दै थातथलो भएकै स्थानमा व्यवस्थापन गर्नुपर्ने बताए । उनले अहिलेको अवस्थालाई हेरेर केही मानिसको व्यवस्थापन गर्न लागेको खण्डमा भविष्यमा अतिक्रमण गरेर आउनेलाई व्यवस्थापन गर्न कठिनाइ हुने बताए ।
उनले सुकुम्वासीको नाममा जग्गा लिने र १० वर्षपछि बेचेर फेरि सुकुम्बासी हुँ भन्दै हिँड्ने उदाहरण देखिसकेको भन्दै अनधिकृत रुपमा बस्ने मानिसहरुलाई उनीहरुकै थातथलोमा व्यवस्थापन हुनुपर्ने बताए । उनले महानगरले चालेको कदम सही भएको भन्दै नैतिक रुपमा समर्थन गरेको बताए ।
काठमाडौंका स्ववासीहरूले अनधिकृत बस्तीमा बसोवास गर्ने मानिसहरुलाई राज्यले थातथलो रहेकै जिल्लामा व्यवस्था गरिदिनुपर्ने बताए ।