
झुट्ठा विवरण पेश गरी नागरिकता र राहदानी प्रमाणपत्र लिई दुरुपयोग गरेको अभियोगमा एक म्यानमारका नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही त्रिभुवननगर गाविस–१ बस्दै आएका म्यानमारका नागरिक ३९ वर्षीय मोहमद नुर आलम रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१४ कलंकी खसीबजारबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा सन् २०१२ मा म्यानमारबाट बंगलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साविक त्रिभुवननगर गाविस–१ मा बसि मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुठा विवरण पेश गरी नेपाली नगरिकता लिएको र सोही नागरिकताको आधारबाट राहदानी विभाग काठमाडौंबाट राहदानीसमेत प्राप्त गरेको खुल्न आएको छ ।
उनलाई लिखतसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।