
सरकार गठनबारे छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शनिवार अपराह्न बसेको हो ।
यसअघि पटकपटक बसेको बैठकमा सहमति नजुटेकाले बैठक पुनः बसेको बताइएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन् । त्यस्तै दोस्रो तहका पनि केही नेता बैठकमा सहभागी भएका छन् ।
सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय भोलि (पुस १० गते) अपरान्ह ५ बजे सकिँदैछ । त्यसअघि नै कुनै प्रतिनिधिसभा सदस्यले आफ्नो पक्षमा बहुमत पुर्याएर राष्ट्रपतिसमक्ष दाबी पेश गर्नुपर्ने भएकाले सत्तारुढ दलले छलफललाई तीव्र बनाएका छन् ।
सत्ता गठबन्धनमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति कायम हुन सकेको छैन । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले दाबी गरिरहेको छ । नेकपा माओवादी केन्द्रले पनि सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरिरहेको छ । दुवै दलले प्रधानमन्त्रीमा दाबी गरेकाले सहमति कायम हुन नसकेको हो । सत्ता गठबन्धनमा आलोपालो सरकारको नेतृत्व गर्ने बारेमा पनि छलफल भइरहेको छ ।