काठमाडौं, ३१ साउन — २३ दिन यता चिकित्सा क्षेत्रमा व्याप्त समस्या समाधानको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा गोविन्द केसीले अनसन स्थगित गरेका छन् ।

मंगलबार साँझ केसीले बाढीपहिरोले मुलुकमा समस्या आएकाले माग पूरा नभएपनि अनसन स्थगित गरेको बताएका छन् ।
अस्पताल परिसरमा पत्रकारसँग कुराकानी गर्दै डा. केसीले माफिया प्रवृत्तिविरुद्ध भने आफ्नो आन्दोलन जारी रहेको उनले बताए ।
त्रिवि शिक्षण अस्पतालमा अनसरत केसीलाई यसअघि सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपनि कुनै पनि हालतमा उधारो सहमति गरेर अनसन नतोड्ने अडान लिँदै आएका थिए ।
डा केसीले आफूले दिएको सुझावलाई समेटेर चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग गठन नभएसम्म सबै तहको शुल्क सरकारले निर्धारण गर्नुपर्ने लगायतका माग राखेर एघारौं पटक अनसनमा बसेका हुन् ।
चिकित्सा शिक्षामा देखिएका बेथिति अन्त्यको माग गर्दै ड केसीले पहिलोपटक २०६९ साल असार २१ देखि २४ गतेसम्म चार दिन अनशन बसेका थिए।