
शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनको निर्णायक बैठक बालुवाटारमा शुरू भएको छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष 'प्रचण्ड'बीच केहीबेर वान टु वान छलफलपछि सत्ता गठबन्धनको बैठक शुरू भएको हो ।
भावी सरकारमा पहिलो कार्यकालको नेतृत्व कसले गर्न भन्ने विषयमा सहमति जुट्न नसकिरहेका बेला निर्णायक छलफल शुरू भएको छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड दुवैले पहिलो कार्यकालमा सरकारको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएका छन् ।
दुवैले दाबी नछाड्दा सत्ता गठबन्धन नै संकटमा परेको छ ।
संविधानको धारा ७६ (२) अन्तर्गत दाबी पेश गर्नका लागि राष्ट्रपतिले दिएको समयसीमा आज साँझ ५ बजेसम्म छ ।
५ बजेसम्म दाबी पेश नगरेमा वा दलहरूले समय थपका लागि लिखित आग्रह नगरेमा मुलुक संविधानको धारा ७६ (३) को चरणमा प्रवेश गर्नेछ ।
७६ (३) मा संसद्को ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ ।