
राष्ट्रपति विद्या भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।
एमालेसहित प्रतिनिधिसभाका १७० सांसदको समर्थन प्राप्त गरेका प्रचण्डलाई संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६, नागरिक उन्मुक्तिका ४ सांसदले समर्थन गरेका छन् ।
स्वतन्त्र सांसदहरू प्रभु साह, किरण साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि प्रचण्डलाई समर्थन गरेका छन् । यी सबै जोड्दा १७० पुग्छ ।
प्रधानमन्त्रीमा नियुक्तिको पत्र राष्ट्रपति भण्डारीले प्रचण्डलाई दिइसकेकी छन् ।
'नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम तपाईंलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको छु । प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाईसहित कार्यकालको सफलताको कामना गर्दछु,' राष्ट्रपतिले दिएको पत्रमा भनिएको छ ।
हेर्नुहोस्, प्रचण्डलाई राष्ट्रपतिले दिएको पत्र :
