
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सरस्वती बहुमुखी क्याम्पसले ६४ औं वार्षिकोत्वसको मनाएको छ । विभिन्न कार्यक्रम गरी क्याम्पसले आइतबार ६४ औं वार्षिकोत्सव मनाएको हो ।
वि.स. २०१६ साल पुस १० गते सरस्वती बहुमुखी क्याम्पस स्थापना भएको थियो । कार्यक्रमका प्रमुख अतिथि संस्थापक क्याम्पस प्रमुख तथा त्रिविका पूर्वउपकुलपति डा. शंकरराज पाठकले आठ जना विद्यार्थीबाट शुरू गरेको बताए । आठ जना विद्यार्थी भर्ना गरेर शैक्षिक यात्रा सुरु गरेको सरस्वती क्याम्पसमा अहिले साढे ५ हजार विद्यार्थी अधययनरत छन् ।
संस्थापक क्याम्पस प्रमुख पाठकले विदेश पढ्न जाने विद्यार्थी रोक्न नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए । भवन निर्माण लगाएतका लागि २ लाख खर्च जुटाएर क्याम्पस शुरू भएको उनले बताए ।
वार्षिकोत्सवको अवसरमा क्याम्पस प्रमुख डा. गोलमान गुरुङले क्याम्पसको शैक्षिक क्षेत्रमा धेरै प्रगति भएको बताए । सबै क्षेत्रको सहयोगका कारण सरस्वती क्याम्पसले प्रगति गर्न सफल भएको बताए । उनले क्याम्पसको सफलताका लागि प्राध्यापक र विद्यार्थी दुवै पक्षको उत्तिकै मेहनत चाहिने बताए ।
६४ औं वार्षिकोत्वका अवसरमा क्याम्पसले साताब्यापी खेलकुद कार्यक्रमको आयोजना गरेको थियो । क्याम्पसले बास्केटबल, भलिबल, फुटसल, चेस, ब्याडमिन्टन, टेबुलटेनिसजस्ता कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्वका अवसरमा खेलकुदमा बिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।