
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिनापछि मुलुकले नयाँ सरकार पाएको छ ।
प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस सत्ताबाहिर रहँदा तेस्रो दलको नेतृत्वमा संयुक्त सरकार बनेको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो कार्यकालका लागि मंगलवार शपथ लिएका छन् । प्रचण्डले सोमवार नै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । चुनावबाट चौथो दलको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी भएको छ ।
देशको अर्थतन्त्र शिथिल रहेको बेलामा प्रचण्डले नयाँ सरकारको नेतृत्व गरेका छन्, उनका सारथि बनेका छन्, नेपालमा सफल अर्थमन्त्रीको परिचय बनाएका विष्णु पौडेल । मन्त्रिपरिषद्को पहिलो बैठकमार्फत सरकारले अर्थतन्त्र सुधारका लागि केही स्वागतयोग्य निर्णय गरेको छ ।
अर्थतन्त्रमा देखापरेको तरलता संकुचन, उच्च ब्याजदरलाई सम्बोधन गरी अर्थतन्त्रलाई चलायमान बनाउने । सार्वजनिक खर्च मितव्ययी गराउन मन्त्रीहरूले बढेको तलब नलिने निर्णय प्रशंसनीय छन् ।
राज्यलाई पैसा तिरेर पाउनुपर्ने पासपोर्ट, राष्ट्रिय परिचयपत्र बनाउन पनि मानिसहरू घण्टौं लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने सरकारको अर्को महत्त्वपूर्ण निर्णय हो । विगतका सरकारले पनि यो गर्न सक्थे, तर पासपोर्ट लिनेको लाइनअगाडि मन्त्रीहरूले रवाफ देखाउँदै हिँडे ।
सरकारी सेवा लिनका लागि भइरहेको सास्तीका कारण सरकार र राजनीतिक दलहरूप्रति आमनागरिकमा वितृष्णा उत्पन्न भएको थियो । कम्तीमा सरकारले आफ्नो पहिलो निर्णयमार्फत नै केही सुधारको संकेत देखाएको छ ।
शपथपछिको प्रतिक्रियामा प्रधानमन्त्री प्रचण्डले केही नयाँ गरिछाड्ने संकल्प भएकाहरू सरकारमा रहेकाले जनअपेक्षा पूरा गर्न लाग्ने बताएका छन् ।
प्रचण्डले अहिलेसम्म राम्रा सारथि पाएका छन्, विष्णु पौडेल र रवि लामिछाने । पौडेल अर्थमन्त्री बन्नासाथ शेयर बजारमा सकारात्मक सन्देश प्रवाह भएको छ । यसले अर्थ क्षेत्रका अन्य सूचकमा पनि आत्मविश्वास बढाउने छ । गृहमन्त्री लामिछानेले पनि केही सुधारका काम थालनी गरेका छन् ।
सरकारको परम्परागत कार्यशैलीप्रति जनताले आम निर्वाचनमा आक्रोश पोखेका थिए । त्यो जनआक्रोश मत्थर गर्नका लागि प्रचण्ड नेतृत्वको सरकारले धेरै गर्नुपर्नेछ ।
जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको काममा सरकारको ध्यान जाओस् । प्रधानमन्त्री प्रचण्डलगायत नयाँ सरकारको उत्साही टीमलाई जनताको मन जित्ने गरी काम गर्न शुभकामना ।