
स्थानीय गन्यापधुरा गाउँपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट ३०७ जना लाभान्वित भएका छन् ।
वडा नम्बर ४ कैलपालमाण्डौ स्वास्थ्य चौकीमा वडा नम्बर ४ र ५ को आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र जिल्लास्थित आँखा अस्पतालको प्राविधिक सहयोगमा मंगलवार १ दिने शिविर आयोजना गरिएको थियो ।
आँखाको उपचार गराउन जिल्ला सदरमुकाम डडेल्धुरा लगायत अन्य अस्पताल जान नसक्ने ज्येष्ठ नागरिक तथा आर्थिक अभावले उपचार गर्न नसक्ने स्थानीयले गाउँमै राखिएको निःशुल्क शिविरबाट सेवा लिएका हुन् ।
शिविरमा उपचार गराउनेहरुको भीड लागेकाले अब चाँडै गाउँपालिकाभित्र शल्यक्रियासहित आँखाको उपचार गराउन शिविर आयोजना गरिने गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर कार्कीले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका लक्षित समुदाय र ज्येष्ठ नागरिक तथा असहायका लागि शिविर आयोजना गरी सेवा प्रदान गरिने उनले बताए । आँखाको उपचार मात्रै नभई अन्य दीर्घ रोगको औषधोपचारका लागि समेत गाउँपालिकाभित्रै शिविर आयोजना गरी स्थानीय सर्वसाधारणलाई सेवा प्रदान गरिने उनको भनाइ थियो ।