०८ साउन २०८३, शुक्रबार

लुम्बिनीमा हुने भनिएको मुख्यमन्त्रीहरूको सम्मेलन स्थगित

लुम्बिनीमा हुने भनिएको मुख्यमन्त्रीहरूको सम्मेलन स्थगित

बिदा हुनुपूर्व सातै प्रदेशका मुख्यमन्त्री सहभागी भएर लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ ।

पछिल्लो राजनीतिक कारणले मुख्यमन्त्री सम्मेलन स्थगित गर्ने निर्णय भएको लुम्बिनी सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री तिलकराम शर्माले जानकारी दिए ।

हालै कार्यान्वयनमा आएको लुम्बिनी प्रदेशको स्थायी राजधानीमा मुख्यमन्त्री सम्मेलन गर्ने प्रदेश सरकारको तयारी थियो । अन्य प्रदेशका मुख्यमन्त्रीहरूलाई नयाँ राजधानीमा भ्रमण गराउने र गत ५ वर्षे कार्यकालको समीक्षा गर्न सम्मेलन गर्ने भनिए पनि २ दिनअघि स्थगित भएको हो ।

‘राजनीतिक घटनाक्रमले यो सरकारले सम्मेलन गर्न सकेन, अर्को सरकारले गर्ला,’ प्रवक्ता शर्माले लोकान्तरसँग भने । 

लुम्बिनीका मुख्यमन्त्री कूलप्रसाद केसीको प्रस्तावमा हुने भनिएको सम्मेलनमा प्रदेशको ५ वर्षे समीक्षा गर्ने र संघीयता कार्यान्वयनका लागि नयाँ प्रतिनिधि सभालाई सुझाव दिने तयारी थियो । संघीय सरकार बन्दा दलहरूबीचको गठबन्धनको समीकरण परिवर्तन भएको छ । 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनावमा गएको भए पनि एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन् । 

लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रम पुस १६ गते हुने भएको छ । 

सम्मेलनमा मुख्यमन्त्रीहरूले अनुभव आदानप्रदान गर्नुका साथै कार्यसम्पादनका क्रममा संघीय सरकारबाट भएका उल्झनको समाधान खोज्ने, बाझिएका र बन्न नसकेका कानून निर्माणका लागि अबको संसद्लाई सुझाव दिने विषयमा गम्भीर छलफल गर्ने तयारी थियो ।

salt training

कमेन्ट गर्नुहोस्