
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा ३ जनाको उम्मेदवारी परेको छ । कांग्रेस नेताहरू उद्वव थापा, अमृत अर्याल र केदार कार्कीले संसदीय दलको नेतामा मनोनयन दर्ता गराएको नेपाली कांग्रेस प्रदेश १ का उपसभापति तथा निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीले बताए ।
कांग्रेश प्रदेश १ को दलको नेताका लागि ४ जना आकांक्षी रहेकोमा भीम पराजुली उद्वव थापाको प्रस्तावक बसेका छन् । संस्थापन पक्षबाट अमृत अर्याल, नेता कृष्णप्रसाद सिटौला पक्षबाट उद्धव थापा र संस्थापन इतर समूहबाट केदार कार्कीले उम्मेदवारी दिएका हुन् ।
कार्की वर्तमान प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हुन् । उनी मोरङ ६(२) बाट निर्वाचित भएका हुन् ।
अर्याल भने मोरङ ५(१) बाट निर्वाचित भएका हुन् । उनी कांग्रेसका केन्द्रीय सदस्य हुन् ।
दलको नेता छान्न भोलि निर्वाचन हुनेछ । कांग्रेस प्रदेश १ मा २९ जना सदस्य रहेका छन् ।