०२ साउन २०८३, शनिबार

नेपाल–भारत संयुक्त सैनिक अभ्यास सूर्य–किरण सम्पन्न

नेपाल–भारत संयुक्त सैनिक अभ्यास सूर्य–किरण सम्पन्न

नेपाल भारत संयुक्त सैन्य अभ्यास सूर्य–किरण सम्पन्न भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा यही पुस ०१ गतेदेखि सञ्चालन भएको संयुक्त सैन्य अभ्यास बिहीवार सम्पन्न भएको हो । उक्त तालिमको समापन बलाधिकृत रथी सरोजप्रताप राणाले एक विशेष कार्यक्रमका बीच गरेका छन् । 

विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्दार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरू समावेश गरी सैन्य अभ्यास सञ्चालन गरिएको थियो । उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्ले र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४÷३३४ जना सकलदर्जा सहभागी रहेका थिए । 

समापन समारोहमा, बलाधिकृत रथी श्री सरोज प्रताप राणाले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकोमा सहभागी सैनिकहरुलाई बधाई दिए । उनले तालिमप्रति देखाएको समर्पण, उत्सुकता र कडा परिश्रमले भविष्यमा आईपर्ने जस्तोसुकै चुनौतीहरूलाई प्रभावकारी ढंगले समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले सहभागी दुवै देशका सैनिकहरूलाई प्रमाणपत्रसमेत प्रदान गरेका थिए । 

उक्त समापन कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी बाबुराम श्रेष्ठ, मध्यपश्चिम पृतनाका पृतनापति उपरथी यामप्रसाद ढकाल, नं. ३ बाहिनीपति एवं संयुक्त अभ्यासका निर्देशक सहायक रथी प्रेमबहादुर पुन, नं.२२ बाहिनीपति सहायक रथी नवराज गुरुङ, नेपालका लागि भारतीय सैनिक सहचारी कर्णेल अमित शर्मा, रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा रुपन्देही जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । 

संयुक्त सैनिक अभ्यासले दुई देशबीच कायम रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा आधारभूत सैनिक सिपको विकास हुने विश्वास लिएको सेनाले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्