
सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीवार निलम्बन गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो ।
सीआईबीको टोलीले डीएसपी केसीलाई गत आइतवार राति बुटवलस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो । उनको निवासबाट टोलीले ३५ तोला सुन र १८ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ ।
जिल्ला प्रहरी कास्कीमा सरुवा भएका उनी बुटवलबाट रमाना लिएर कास्की जाने तयारीमा थिए । केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो । प्रधान कार्यालयले सोमवार गृह मन्त्रालयमा निलम्बनका लागि सिफारिस गरेको थियो ।
पटक–पटक विवादमा मुछिएका डीएसपी केसीले साउन १ गते तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिको विवादमा नगरपालिका परिसरमा वडाध्यक्षलाई लात्ताले हानेर पौडी पोखरीमा फालिदिएका थिए । डिएसपी केसी निवर्तमान गृहमन्त्री बालकृष्ण खाणनिकट भएकाले सत्ताको आडमा मनपरी गरेको र मनपरी गर्नेलाई छुट दिएको आरोप लाग्दै आएको थियो ।