
आगामी चौविस घण्टाभित्र प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागको एक दुई स्थानमा आज हल्का वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उच्च पहाडी भूभागमा हिमपात हुने भएकाले जाडो बढ्ने विभागको भनाइ छ ।
तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्ने भन्दै विभागले चिसोबाट बच्न सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । विभागका अनुसार देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सामान्य रहेको छ ।
आज शुक्रबार पहाडी भूभागमा आंशिक बदली रहने र प्रदेश १, गण्डकी, कर्णाली तथा सुदूरपश्चिमको पहाडी भूभागमा हल्का वर्षासँगै हिमपात पनि हुने विभागले जनाएको छ । त्यस्तै, भोलि शनिबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । बाँकी भूभागमा मौसम सफा रहने छ ।
त्यस्तै, भोलि शनिबार पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ । उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने विभागको भनाइ छ । सोहीअनुसार पुस १७ गते आइतबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । न्यूनतम तापक्रम निरन्तर घट्दैगएकाले चिसोबाट बच्न विभागले सावधानी अपनाउन आग्रह गरेको छ ।