अमेरिकाको बाइडन प्रशासनले ताइवानलाई भोल्कानो हतियार प्रणालीका रूपमा १८ करोड डलर बराबरको सहयोग गर्ने भएको छ ।
यस प्रणालीअन्तर्गत ताइवानले ट्यांक ध्वस्त पार्नका लागि बारुद बिछ्याउनेछ ।
चीनले केही दिनअघि ताइवानतर्फ लडाकू विमान पठाएको अनि रुससँग सैन्य अभ्यास गरेको थियो ।
जमीनमा गुड्ने गाडी वा हेलिकप्टरबाट ट्यांकनिरोधी र सैन्य जवान निरोधी बारुदहरू फाल्न सकिन्छ ।
ताइवानमाथि बेइजिङले सन् २०२७ सम्ममा आक्रमण गर्न सक्ने आकलनका बीच ताइवानले गाडीबाट बारुद फाल्न मिल्ने प्रणाली अमेरिकासँग लिन लागेको हो । त्यसले चिनियाँ आक्रमण रोक्न सहयोग गर्ने बताइएको छ ।
चिनियाँ सेनाले हालैका वर्षमा ताइवानलाई लगातार हैरान पार्दै आएको छ । चीनका शीर्ष नेताहरूले ताइवानलाई चिनियाँ शासन स्वीकार गर्नुको विकल्प नरहेको बताउने गरेका छन् ।
चिनियाँ जनमुक्ति सेनाले लगभग दिनहुँ जसो ताइवानतर्फ विमान वा जहाजहरू पठाउने गरेको छ ।
आइतवार बिहान ६ बजेदेखि सोमवार ६ बजेसम्म ४७ वटा चिनियाँ विमानहरू ताइवान जलसन्धिको मध्यवर्ती रेखा पार गरेर ताइवानी क्षेत्रमा पुगेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।
अमेरिकाको आफ्नो वार्षिक रक्षा बजेटमा ताइवानसम्बन्धी प्रावधान राखेको विरोधमा चीनले आक्रोश व्यक्त गर्न मध्यवर्ती रेखा पार गरेको बताइएको छ ।