
अवैध मोबाइल सेट आयातलाई निरुत्साह गर्न भन्दै सरकारले ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) स्थगित गरिएको छ । आज (शुक्रवार)देखि लागू गर्ने भनिएको एमडीएसएस स्थगित गरिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयन शुरु गरेकै दिन सिष्टम लागू हुन सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काललाई एमडीएमएस लागू नगर्न निर्देशन दिएपछि रोकिएको प्राधिकरणले बताएको छ ।
यसअघि आजदेखि एमडीएमएस लागू गर्ने तयारी भएको थियो । सरकारले विदेशबाट आउने नेपालीले ल्याउन पाउने मोबाइलमा लाग्ने भन्सारलाई हटाएर यसअघिकै व्यवस्था कार्यान्वयन गर्न दिएको निर्देशनसँगै एमडीएमएस लागू पनि स्थगित भएको छ ।
भन्सार विभाग र नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रधानमन्त्री स्वयंले तयारी पूरा गरेर अलिपछि लागू गरौँ भन्ने निर्देशन दिएपछि यो प्रणाली स्थगित गरिएको भएको दूरसञ्चार प्राधिकरणका एक अधिकारीले बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रवारदेखि यो प्रणाली पूर्णसञ्चालनमा ल्याउने भएकाले मोबाइल सिस्टममा अनिवार्य दर्ता गर्न सार्वजनिक सूचना जारी गरेको थियो । यद्यपि, प्रधानमन्त्रीको निर्देशनपछि यो प्रणाली लागू हुने मिति अनिश्चित बनेको छ ।
मोबाइल दर्ता गर्नुपर्ने व्यवस्थाले विदेशबाट फर्कने नागरिकले थप सास्ती पाउने भन्दै यसको चर्को आलोचना भएको थियो । यस सम्बन्धमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि चासो देखाएका थिए । अर्थमन्त्री र प्रधानमन्त्री दुवैको छलफलपछि यो प्रणाली हाललाई स्थगित गरिएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार तयारी गर्न थप समय दिइएको हो ।