
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले स्वच्छ र निष्पक्ष भएर काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । आज (शुक्रवार) बिहान प्रहरी प्रधान कार्यालय नक्साल पुगेर प्रहरी कर्मचारीहरूलाई जनताको पक्षमा काम गर्न निर्देशन दिएका हुन् ।
प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न पनि निर्देशन दिए । गृहमन्त्रालय र मन्त्रीका रूपमा आफू प्रहरीको पक्षमा चट्टानझै उभिने उनले आश्वासन दिए । जनताको सबैभन्दा नजिकको साथी प्रहरी भएको भन्दै उनले कानूनविरुद्ध गएर जनतालाई दुःख दिने जो कोहीलाई कारबाही गर्न निर्देशन दिए ।
यसअघि गृहमन्त्री रविले प्रहरी अधिकारीहरूलाई नेता र कूटनीतिक नियोगका व्यक्तिलाई पूर्वसूचना नदिई नभेट्न निर्देशन दिएका थिए । उनले सूचना जारी गर्दै राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका व्यक्तिलाई कुनै काम विशेषले भेट्नुपरेमा अनुमति लिएर मात्र भेट्न निर्देशन दिएका थिए ।