![गुरुङ समुदायले मनाए तमु ल्होसार [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/tamu_losar_baner_kitpJu7SI8.jpg)
गुरुङ समुदायले आज (शुक्रवार) तमु ल्होसार मनाएका छन् । गुरुङ समुदायहरूले पुरानो वर्षलाई विदाई गरी नयाँ वर्षलाई स्वागत गर्दै आज विभिन्न सांस्कृतिक कार्यक्रमसहित काठमाडौंसहित देशभर ल्होसार मनाएका हुन् ।
काठमाडौंको टुँडिखेलमा विशेष सांस्कृतिक कार्यक्रम गरी ल्होसार मनाइएको छ । देशका अन्य स्थानहरूमा पनि गुरुङ समुदायले आफ्ना सांस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रम गरी ल्होसार मनाएका छन् । काठमाडौंमा ल्होसार मनाउन विभिन्न जिल्लाबाट समेत गुरुङ समुदाय उपस्थित भएका थिए ।
सो अवसरमा गुरुङ समुदायका विभिन्न सांस्कृतिक नाचदेखि झाँकीसमेत देखाइएको थियो । ल्होसारको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत उपस्थिति थिए । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । आज काठमाडौंमा रहेका गुरुङ समुदायले वसन्तपुरदेखि टुँडिखेलसम्म सांस्कृतिक प्रदर्शनी गर्दै तमु ल्होसार मनाएका छन् । आफ्नो समुदायको सांस्कृतिक पहिरनमा सजिएका सो समुदायका मानिसहरूले नाचगान गर्दै काठमाडौंको सडक रंगिन बनाएका थिए । तमु ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको थियो ।













