
बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवी खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेका छन् । उनीहरूले ४ बुँदे मागसहित काठमाडौंको माइतीघरमा धर्ना शुरू गरेका हुन् ।
निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पु¥याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित तेस्रो चरणको आन्दोलन शुरु गरेको अधिकारर्मी रुबी खानले बताइन् ।
उनले निर्मला र नन्कुन्नी न्यायका लागि राज्यबाट आवश्यक काम हुन नसकेको बताइन् । उनले सरकारले पटक–पटक घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाइन् । उनले सरकारले आन्दोलनकारीहरूसँग दुई पटक वार्ता गरेको, तर पनि मुद्दा अदालतसम्म पुर्याउन नसकेको बताउँदै प्रहरीले नै अपराधीको रक्षा गरिरहेको आरोप लगाइन् ।
बाँकेको जानकी गाउँपालिका–२ नेवाजी गाउँका ३८ वर्षीय नन्कुन्नी धोबी २०७८ साउन ६ गते मृत अवस्थामा फेला परेकी थिइन् । यस्तै, नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरकी निर्मला कुर्मी सोही २०७८ मंसिरदेखि बेपत्ता छिन् । दुवै घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने महिलाहरूको माग छ ।
घटनापछि न्यायको माग गर्दै पहिलोपटक उनीहरू नेपालगञ्जबाट २० दिनको पैदला यात्रा गर्दै काठमाडौं आएका थिए । उनीहरूले माइतीघरमा १९ दिन धर्ना दिएका थिए । गृह मन्त्रालयले घटनाको छानबिन गर्ने प्रतिबद्धता जनाएपछि उनीहरूले धर्ना तोडेका थिए । त्यसपछि उनीहरूले दोस्रो पटकमा ४२ दिनसम्म आन्दोलन गरेका थिए ।











