
मोरङको विराटनगर निवासी अभिषेक घिमिरे ३८ वर्षका भए । उनी आफ्नो औपचारिक शिक्षा पूरा नगर्दै शिक्षा सुधार अभियानमा लागेका छन् ।
उनी खोटाङको दिप्रुङ चुइँचुम्मामा जन्मिएका हुन् । उनले ५ कक्षासम्म दिप्रुङ चुइँचुम्माकै सामुदायिक विद्यालयमा पढे । परिवारका एक्ला छोरा अभिषेकलाई सरकारी जागिरे बनाउने उद्देश्यले बालजगत अंग्रेजी विद्यालयमा भर्ना गरियो ।
मोरङको साविकको डागिहाट हालको बेलबारी नगरपालिका–९ स्थित बालजगत अंग्रेजी विद्यालयमा उनलाई भर्ना गरियो । डागिहाटमा उनको काकाको विद्यालय थियो । सामुदायिक विद्यालयमा पढेकाले अंग्रेजीमा उनी कमजोर थिए । काकाले उनलाई २ कक्षामा भर्ना गरिदिए । अभिषेकले २ कक्षामा ६ महिना पढे र ३ कक्षामा जम्प हाने । ५ कक्षासम्म पढ्नका लागि उनलाई २ वर्ष लाग्यो । त्यसपछि उनले सबै कक्षा नियमित पढे ।
एसएलसी पनि उनले निजी विद्यालयबाटै उत्तीर्ण गरे । सुन्दरहरैंचाको सुकुना क्याम्पसबाट आईए गरेका उनले अंग्रेजी विषय लिएर विराटनगरको मेट्रोपोलिस कलेजबाट स्नातक गरे । अभिषेकका बुवा शिक्षक थिए । बुवाको तलबले खान–लाउन मात्रै पुग्ने भएकाले उनले निजी विद्यालय तथा ट्यूसन सेन्टरमा पढाउने गर्थे ।
‘बुबाको कमाइ खान लगाउन ठिक्क हुन्थ्यो,’ उनले भने, ‘मेरो पढाइका लागि मैले आफैं जुटाउनुपर्ने बाध्यता थियो ।’ काठमाडौंको आरआर क्याम्पसबाट स्नातकोत्तर गरेका उनी पीएचडी गर्ने तयारीमा छन् ।
विद्यालयमा घोकन्ते शिक्षा लिनु हुँदैन भन्दा अभिषेक धेरैपटक कक्षाबाट निकालिएका थिए । ‘नोट सार्न अहिले पनि दबाब दिने चलन छ तर त्यो सिकाइ उपलब्धि होइन भन्दा सरसरूले कक्षाबाट निकालेर बाहिर राख्ने गरेको अहिले पनि झल्झली याद आइरहन्छ,’ उनले भने ।
पढ्न र परराष्ट्र मन्त्रालयमा अफिसरमा नाम निकाल्ने सोच बनाएर उनी काठमाडौं गएका थिए । उनले लोक सेवाको तयारी पनि गरे । कलेजमा पढ्दै लोक सेवाको तयारी गर्दै निजी विद्यालयमा समेत पढाउने गरेको उनले बताए तर दैनिक किताबका कुरा मात्रै पढाउने र तलब पचाउने मात्रै काम भएको देखेपछि आफूले शिक्षा सुधारमा लाग्नुपर्छ भन्ने योजना बनाएको बताए । आफूले पढाउँदा किताबभन्दा पनि खेल्दै खेलाउँदै सिकाउने गरेको उनले बताए ।
खेल्दै सिक्दै जीवन उपयोगी शिक्षा लागू गर्नुपर्छ भन्ने अभिषेक शिक्षा सुधारका अभियन्ता बनेका छन् । आफैं १२ वर्ष शिक्षण पेशामा आबद्ध भएका उनी अहिले विद्यालय–विद्यालयमा पुगेर शिक्षा सुधार यसरी गर्न सकिन्छ भन्ने उदाहरण दिन थालेका छन् ।
२०७४ सालबाट बृहत् राष्ट्रिय शिक्षा अभियान चलाए उनले । अभियानमा शिक्षाको सुधार गर्ने अन्य साथीलाई पनि समेटेर देशभरका सयौं सामुदायिक विद्यालय तथा स्थानीय तहमा पुगेर शिक्षामा सुधारका सम्भावनाबारे छलफल गरेको उनले बताए ।
‘शिक्षामा सुधार नहुनुमा पहिला शिक्षकमा समस्या देखिन्थ्यो,’ उनले भने, ‘पछिल्लो समय स्थानीय तहमा जनप्रतिनिधिबीच नै समस्या देखियो । शिक्षा क्षेत्रमै कमिसनको चलखेलले सुधार ल्याउन समस्या परेको छ । लगानी गर्छाैं तर हामीलाई कमिसन कहाँबाट आउँछ भनेर जनप्रतिनिधिले नै बार्गेनिङ गर्ने गरेका छन् ।’ पहिला जनप्रतिनिधिलाई शिक्षाको महत्त्व बुझाउन आवश्यक देखिएको उनले बताए ।
नेपालमा ५० हजार बढी शिक्षकलाई शिक्षण सिकाइ तथा सुधारका लागि तालिम दिएका छन् उनले । डेढ लाख अभिभावकसँग अन्तर्क्रिया गरेका छन् । जनप्रतिनिधिलाई पनि आफ्ना योजना सुनाइरहेका छन् । तराईका बस्तीमा सबैभन्दा बढी समस्या रहेको उनी बताउँछन् ।
सामुदायिक विद्यालयको सुधारका लागि प्रधानाध्यापक नियुक्तिमै त्रुटि रहेको अभियानले देखाएको छ । विद्यालय व्यवस्थापन समितिको जुन पार्टीका अध्यक्ष छन्, त्यही पार्टीको प्रधानाध्यापक हुँदा शिक्षाको सुधार गर्न नसकिने अभियानको निष्कर्ष छ । ‘शिक्षकहरू नै राजनीतिमा संलग्न भएकाले कारबाही गर्ने निकाय समेत मौन रहेको छ,’ उनले भने ।
‘कारबाही गर्न खोज्यो भने शिक्षकले केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पहुँच रहेको भन्दै धम्क्याएको पनि पायौं,’ उनले भने, ‘शिक्षामन्त्रीको जागिर खाइदिन्छौं भन्ने शिक्षक पनि आफैंले भेटायौं ।’
शिक्षाको सुधारका लागि उनले नयाँ नारा नै बनाएका छन् – आतंकवादको अन्त्य बन्दुकले होइन, शिक्षाले हुनुपर्छ । यो नारा लिएर उनी नेपालमा मात्रै होइन, विभिन्न देशले आयोजना गर्ने शिक्षा सुधार सम्बन्धी कार्यक्रममा समेत पुगेका छन् ।
गत वर्ष बेलायतबाट प्रकाशित ‘द एक्सेलिजेन्ट’ नामक पत्रिकाले उनलाई विश्वभरका ‘उत्कृष्ट १०० शिक्षाकर्मी’को सूचीमा पनि समावेश गरेको थियो । उनले स्थापना गरेको इन्टरनेसनल एशोसिएशन अफ इजुकेसनल लिडर नामक संस्थामा शिक्षा क्षेत्रका २० हजार बढी अभियन्ता जोडिएका छन् । उनीहरू नेपालका मात्रै नभएर विभिन्न देशका छन् । विभिन्न देशको शिक्षण सिकाइबारे जूममा छलफल हुने गरेको उनले बताए ।