
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुन सत्ता साझेदार दलसमक्ष तीन बुँदे शर्त अघि सारेको छ ।
संघीयता, गणतन्त्र विरोधी, धर्मनिरपेक्षतालाई अस्विकार गर्ने, राजनीतिक विचार र सिद्धान्त प्रष्ट नभएका दलसमेत सत्ता साझेदार रहेको अहिलेको अवस्थामा त्यसको सम्बोधनमा केन्द्रीत सरकारको न्यूनतम कार्यक्रम आएमा मात्र सरकारमा सहभागी हुने सो दलले जनाएको छ ।
त्यस्तै, जनता समाजवादी पार्टी, नेपालले उठाउँदै आएको संविधान संशोधनको विषय, नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति हुने सुनिश्चित भएमा सरकारमा सहभागी हुने अर्को शर्त राखेको छ । सो दलका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार सरकारमा सहभागी हुन शक्ति बाँडफाँट सम्मानजनक हुनुपर्ने बताएको छ ।
जसपा सरकारमा सहभागी हुने नहुने विषय राजनीतिक समिति बैठकले तय गर्ने निर्णय यसअघि सो दलको बैठकले गरेको थियो । दुई दिनसम्म चलेको सो दलको बैठकले तीन शर्त अघि सारेको हो । सो दलले वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन गरेको छ ।