
बागमती प्रदेश सभा सदस्य श्यामबहादुर खड्काले पर्सा राष्ट्रिय निकुञ्जमा हालै भएको वन्यजन्तु शिकार घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले सो आरोपको खण्डन गरेका हुन् ।
“मेरो समेत नाम जोडेर केही सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । सञ्चार माध्यममा आएजस्तो घटनामा मेरो कुनै संलग्नता नरहेको प्रष्ट पार्न चाहन्छु” उनले भनेका छन् ।
पर्सा सखुवा प्रसौनी गाउँपालिका १ अकोनियामा आफ्नो कृषि फार्म रहेको र उक्त फार्मभित्र रहेको आफ्नो निजी निवासको शयन कक्षमा नेपाल सरकार, गृह मन्त्रालयबाट इजाजत प्राप्त एक थान हतियार र त्यसको इजाजतपत्र राखेको उनले दावी गरेका छन् । चोरी शिकारमा सो हतियार प्रयोग भए पनि त्यसबारे आफूलाई कुनै जानकारी नभएको उनले बताए । सो समय अफू घरमा नरहेको पनि उनले प्रष्ट पारेका छन् ।
“म एउटा जिम्बेवार जन प्रतिनिधि भएकाले कानुनद्वारा निषेधित कुनै पनि क्रियाकलापमा संलग्न हुने कल्पना समेत गर्न सक्दिन” उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।