
रसुवागढी नाकाबाट ३०० भन्दा बढी चिनियाँ सवारीसाधन स्वदेश भित्रिएका छन् ।
नेपाली व्यवसायीमार्फत चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले ३०५ वटा सवारीसाधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएका हुन् ।
यसरी स्वदेश भित्रिएका सवारीसाधनमा इलेक्ट्रिक कार १३२, इलेक्ट्रिक भ्यान ८२, हाइलक्स गाडी ११, लोडर उपकरण २ र फ्युलकार ७८ वटा समेत रहेको सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरूले बताएका छन् । आयात भएका धेरैजसो सवारीसाधन भन्सार प्रक्रिया पूरा गर्न बाँकी रहेका र ती सवारीसाधन हाल रसुवागढी नजिक घट्टेखोला तथा टिमुरे क्षेत्रमा राखिएका छन् ।
प्रत्येक दिन बिहान र दिउँसो २ पटक चिनियाँ सामग्री आयात हुने गरेको र सामान ल्याउनुपूर्व दुवै देशको ढोका खुला गरी रोग रोकथामका लागि औषधी छ्याप्ने चलन बसालिएको छ । केरूङबाट चिनियाँ माल सामग्री रसुवागढीमा ल्याउँदा जति पटक माल सामग्री आउँछ उत्तिनै पटक रोग निर्मलीकरण सम्बन्धी औषधी छर्किने गरेको सीमा क्षेत्रका सुरक्षाकर्मीले जानकारी दिएका छन् ।
रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार गत साउनदेखि मंसिर महिनासम्म चीनबाट आयात भएका सामग्रीको मूल्यांकनबाट २ अर्ब ९० करोड भन्सार शुल्क बापतको राजस्व राज्यकोषमा दाखिला भइसकेको छ ।