
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले तत्कालीन सत्ता गठबन्धन टुट्नुको दोष सभापति शेरबहादुर देउवाले मात्रै नलिने बताएका छन् ।
लोकान्तरसँग कुरा गर्दै डा. महतले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयानुसार नै ठूलो दलको रूपमा कांग्रेसले सरकारको नेतृत्वमा दाबी गर्नुपर्ने भनेर बोल्ने सबै पदाधिकारीले यसको दोष लिनुपर्ने उनले बताएका हुन् ।
‘कार्यसम्पादन समितिको नेतृत्वमा सरकार बनाउन पहल गर्ने भन्ने कांग्रेसको निर्णय थियो । सत्ता गठबन्धनमा हामीसँगै भएको माओवादी समानान्तर हिसाबले जाँदा नयाँ परिस्थिति बनेको हो । राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने भन्ने पार्टीका सबै पदाधिकारीहरूको अडान हो,’ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका पदाधिकारीतर्फ इंगित गर्दै महतले लोकान्तरसँग भने, ‘छाड्नैपरे राष्ट्रपति छाड्न सकिनेसम्ममा थियौं । गठबन्धन टुट्नुमा केही त्रुटि भएकै हो । तर सबै दोष सभापतिले मात्रै लिने भन्ने होइन । ठूलो पद लिएकोमा सभापतिले धेरै जिम्मेवारी लिनुपर्ला, तर हाम्रो अलग्गै मत थियो भन्नेले पनि जिम्मेवारी लिनुपर्छ ।’
निर्वाचनबाट सबैभन्दा ठूलो दलको रूपमा कांग्रेसले नेतृत्व गर्नुपर्छ भन्ने अडान स्वाभाविक भएको पनि महतको दाबी छ ।
‘निर्वाचनबाट ठूलो दल भएपछि कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने अडान स्वाभाविक पनि हो । माओवादीलाई दिन खोजेको भए पनि उल्टै विरोध हुन्थ्यो,’ महतले भने, ‘गठबन्धनमा भएकाले सहमति हुन्छ भन्नेमा थियौं । अघिपछि जे भए पनि नेतृत्व कसले गर्ने भन्ने कारणले नै माओवादीले ५ दलीय गठबन्धन टुटाउँदैन भन्नेमा थियौं । हामीसँग पनि र एमालेसँग पनि वार्ता गरेर माओवादीले घात गर्यो ।’
केन्द्रीय समितिमा समीक्षा हुने
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा, सत्ता समीकरणको परिस्थितिबारे २२ पुसमा बस्ने केन्द्रीय समितिको बैठकमा समीक्षा हुने जानकारी पनि महतले दिए ।
‘अघिल्लो चुनावमा कमजोर बनेको पार्टीलाई यसपटक स्थानीय तह, प्रदेशसभा र प्रतिनिनिधिसभामा पहिलो बनाएर उठाएका छौं,’ महतले भने, ‘सत्ता समीकरणको सवालमा हामी पछि पर्यौं तर पार्टीले सत्ता गुमाए पनि शक्ति आर्जन गरेको छ । केन्द्रीय समितिको बैठकमा यी विषयमा पनि कुराकानी हुन्छ ।’
यसैले तत्काल सत्ता गुम्यो भन्दैमा सभापतिले राजीनामा दिनुपर्छ भन्ने मतमा कुनै तुक नभएको महतले जीकिर गरे । ६३ सीट जितेको पार्टीलाई ८९ सीटसम्म पुर्याउनु पनि सफलता भएको मत महतको छ ।
‘स्थानीय तह, प्रदेश र केन्द्रमा कांग्रेस झन् बलियो भएर आएको छ । यस्तो बेला सत्ता गुम्यो भन्दैमा सभापतिले राजीनामा दिनुपर्छ भन्ने मतमा कति तुक छ ?’ महत भन्छन्, ‘पार्टीलाई सबल, सक्षम र चुस्त कसरी बनाउने भन्नेमा संवाद र छलफल गर्न सकिन्छ । तर यस्ता हचुवा कुराको पछाडि लागेर बलियो बनिँदैन ।’
महतले आज दिउँसो पत्रकार सम्मेलन गर्दै गठबन्धन टुट्नुको कारण, केन्द्रीय समिति बैठकका एजेण्डासहितका विषयमा जानकारी गराउने भएका छन् ।
प्रदेश सरकारबारे पर्ख र हेरको रणनीति
केन्द्रको सत्ताबाट विमुख हुनु परे पनि कांग्रेसले सातवटै प्रदेशका सरकारमा भने पर्ख र हेरको रणनीति बनाउने महत बताउँछन् ।
‘केन्द्रमा दलहरूको बहुमत पुग्यो भन्दैमा स्थानीय परिवेशमा प्रदेशमा पनि सोही दलहरू मिलिहाल्छन् भन्ने छैन,’ महत भन्छन्, ‘यसैले प्रदेशमा हुने अंकगणितलाई हामीले नजिकबाट हेरेर आफ्नो ‘पोजिसन’ तय गर्छौं ।’
२०७४ सालमा कांग्रेस केन्द्र र सातवटै प्रदेशमा कमजोर प्रतिपक्ष थियो । तर यसपटक भने कांग्रेसको सबै प्रदेशमा बलियो उपस्थिति छ ।