
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते साँझ ५ बजेसम्मको समय दिएका छन् ।
निर्वाचन आयोगबाट प्रदेशसभा सदस्यको निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश भएको भन्दै प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ उपधारा १ बमोजिम कुनै दलले स्पष्ट बहुमत प्राप्त नगरेको भन्दै बहुमत पुर्याएर सरकारमा दाबी गर्न समय दिएका हुन् ।
उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्तिको लागि बुधवार साँझ ५ बजेसम्मको समय दिइएको छ ।
५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्न २७ सांसदको संख्या पुर्याउनुपर्ने हुन्छ ।
सुदूपश्चिममा कांग्रेस १९ सिटसहित सबैभन्दा ठूलो दलको रूपमा छ तर सत्ता गठबन्धनमा आबद्ध दल बहुमतमा देखिएका छन् । सत्ता गठबन्धनमा रहेको माओवादीको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७ सिट छ । यी दल एक ठाउँमा उभिँदा सहजै बहुमत पुग्छ । केन्द्रमा पनि यीसहित दल सत्ता गठबन्धनमा छन् ।
सुदूरपश्चिममा नेकपा एसको ४, राप्रपा र स्वतन्त्रको १/१ सिट छ ।