
राष्ट्रिय खेलकुद परिषद् (राखेप) टी–२० लिग प्रकरणमा छानबिन गर्न ५ सदस्यीय छानबिन समिति बनाएको छ । परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरिएको हो ।
कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकाश कुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् ।
परिषद्को कार्यकारी समितिको बुधवार बसेको बैठकले समितिलाई सोबारे सत्य तथ्य छानविन गरि १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंमा भइरहेको नेपाल टी–२० लिगका सम्बन्धमा विदेशी खेलाडीहरुको श्रम स्वीकृती एवं प्रतियोगिता संचालनको सम्बन्धमा विवाद हुँदै आएको छ । प्रतियोगितामा सट्टेबाजी भएको र फिक्सिङका लागि खेलाडीलाई प्रस्ताव गरिएको समेत खुलासा भएको थियो ।