
गत बिहीवार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् ।
प्रधानमन्त्रीले बिहीवार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाई पाण्डेसँग भेट गरेका हुन् ।
प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीबोधप्रति धन्यवाद व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरे । प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै धैर्यधारणका लागि निराकारका बुवा अग्निलाई आग्रह गरेका छन् ।