
विराटनगर महानगरपालिकाले कोशी अस्पताल अगाडि निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ । नक्सा पास नगरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान महानगरपालिकाले शुरु गरेको हो ।
नक्सा पास गर्न आउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाको निर्देशनमा महानगर प्रहरीले डोजर लगाएर अनधिकृत संरचना हटाउन थालेको हो । कोशी अस्पतालले सटरको नक्सा पास गरेको छैन । साथै महानगरलाई बहाल करसमेत अस्पतालले बुझाएको छैन । विराटनगरलाई यथास्थितिमा राख्न योजनाबद्धरूपमा काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।
‘विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउन अभियान थालेका छौँ’, उनले भने, ‘महानगरको अभियानमा सबैतिरबाट साथ र सहयोग पाएका छौँं ।’ उनले महानगर क्षेत्रभित्र निर्माण गरिएका संरचनाको ६० प्रतिशतले नक्सा पास नगरेको र ३० प्रतिशतले माथिल्लो तलाको नक्सा पास नगरेको बताए । रासस