०३ असार २०८३, बुधबार

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
मधेस प्रदेशबाहेक अन्य ६ प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । संघमा प्रधानमन्त्री पुपष्कमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी हुँदै गर्दा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार निर्माणका लागि प्रदेश प्रमुखले आह्वान गरेका हुन् । 
००००
सत्तारुढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम शुक्रवारसम्ममा सक्ने जनाएको छ । न्यूनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलले शुक्रवारसम्ममा सम्पूर्ण काम सक्ने बताइएको हो । 
बिहीवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको जानकारी दिए । उनले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलहरूको सुझावलाई समेट्दै ड्राफ्ट तयार भएको जानकारी दिए ।
००००
यसैगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताएका छन् । बिहीवार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग उनले सरकारले ल्याउने साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताएका हुन् । 
गृहमन्त्री रविले अहिलेको सरकार जनमतको आधारमा बनेको भन्दै जनमतको चाहना पूरा गर्नेगरी कार्यक्रम आउने बताए ।
००००
पाल्पामा गएराति बस  भएको बस दुर्घटनाका मृतक छ जनाकै सनाखत भएको छ ।  दुर्घटनामा मृत्यु हुनेमा रैनादेवीछहरा–८ की ३६ वर्षीया निर्मला घिमिरे, निर्मलाकी ११ वर्षीया छोरी सरुमाया, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बिमा पाण्डे रहेको पाल्पाका प्रहरी नायब उपरीक्षक  वीरेन्द्र थापाले जानकारी दिए  । 
रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ जाँदै गरेको ग१ख ४९७७ नंको बस दुर्घटना भएको थियो ।
००००
नेकपा एकीकृत समाजवादीले वामपन्थी दल र व्यक्तिसँग एकीकरणका लागि पहल गर्ने निर्णय गरेको छ । यसका लागि महासचिव बेदुराम भुसाल संयोजकत्वको कार्यदललाई सक्रिय बनाउने एसले निर्णय गरेको छ । 

पार्टी केन्द्रीय कार्यालयमा बिहीवार बसेको सचिवालय बैठकले वामपन्थी एकताका लागि पहल गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । ‘वाम एकताको लागि पहल गर्ने भनेर पोलिटव्युरो बैठकबाट प्रस्ताव पारित गरेका थियौँ, त्यसको अगुवाई पार्टीले शुरुवात गर्ने निर्णय गरेका छौँ’, खतिवडाले भने ।
००००
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी संगठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो ।
००००
उपप्रधान एवं भौतिक योजना तथा पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले भत्काइएका सडकको अनुगमन गरेका छन् । उनले उपत्यकाको सडकको खाल्डो १५ दिनभित्र पुर्न निर्देशन दिएका छन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही अनुसार समायोजन गरी मूल्य कटौती गर्न प्रचण्डले निर्देशन दिएका हुन् ।
००००
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहीवार भेटवार्ता भएको छ । सरकारलाई समर्थन गरेका यादव देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका हुन् । 
यादवको पार्टीले उपराष्ट्रपति र मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । उनको दाबीका बीच यादवले संसदमा सबैभन्दा ठूलो दल रहेको कांग्रेसका सभापति देउवालाईसँग भेट गरी समसामयिक विषयमा कुराकानी गरेका हुन् । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भेटमा समसामयिक विषयमा कुराकानी भएको जानकारी दिए । 
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ ।
त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि प्रधानमन्त्री कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि कम्पनीले आफ्ना विशेषज्ञ पठाएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।
००००
नेकपा एमाले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन भएका छन् । एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्कीले भण्डारीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
००००
कपिलवस्तुको बाणगङ्गा नगरपालिकाकी २५ वर्षीया सुस्मिता केसीको हत्या भएको करिब साढे २ वर्षपछि अभियुक्तहरू दोषी ठहर भएका छन् । चार दिनको बहसपछि पुस २१ गते बिहीबार मकवानपुर जिल्ला अदालतले पाँचै जना अभियुक्तलाई दोषी ठहर गरेको हो ।

 अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजालसले मृतक सुस्मिताको सासु, ससुरा, २ जना नन्द र जेठी नन्दकी श्रीमानलाई दोषी करार गरेको हो । अदालतले सुस्मिताका ससुरा प्रकाश थापा, सासु तुलसा थापा, कान्छी नन्द सीता थापा, जेठी नन्द दुर्गा थापा, उनका श्रीमान् अरुण कार्कीलाई हत्याको कसुरदार ठहर गरेको हो ।
००००
प्रदेश १ मा मुख्यमन्त्रीको टुंगो लागिनसक्दै मन्त्रीको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र विवाद चर्किन थालेको छ । मन्त्री बन्नका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्य पनि अगाडि सरेपछि माओवादीभित्र विवाद थपप चर्किएको हो ।

माओवादी केन्द्रले यसअघि पार्टीले निर्माण गरेको सांगठानिक संरचनाको लिम्बुवान, किराँत र कोचिला राज्यबाट सन्तुलन मिलाएर सरकारमा पठाउने तयारी गरिरहेको नेताहरूले बताएका छन् । लिम्बुवानबाट दुर्गाप्रसाद चापागाईँ, किराँतबाट राजेन्द्र कार्की, उदयपुरका नारायणबहादुर मगर र मोरङका गणेश उप्रेतीलाई मुख्य दाबेदारका रुपमा हेरिएको छ । दाबेदारमा आचार्य पनि थपिएपछि विवाद चर्किएको नेताहरूले बताएका छन् ।
००००
विभिन्न प्रलोभनमा पारी कैलाली र कञ्चनपुरमा ठगी धन्दा गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला लेकम गाउँपालिका–१ का पदमराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
००००
काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका लागि २ सय ४ वटा प्रस्ताव पेश भएका छन् । ४ करोड ४५ लाख रुपैयाँका कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्दै मंसिर १ गते सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । सूचनाका आधारमा १० वटा क्षेत्रगत कार्यक्रमका लागि यी प्रस्ताव पेश भएका हुन् ।
००००
इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रवाहमा देखिएको समस्या समाधानका निम्ति सरोवारवाला पक्षसँग आग्रह गरेको छ । 
नेपाल दूरसञ्चार प्राधिकरणले पोलको भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रवाह गर्ने तार छानीछानी काट्ने गरेको भन्दै इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन सरकारसँग आग्रह गरेको छ ।
००००
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टससँगको सम्झौता पूणरूपमा कार्यन्वयन नभए आगामी सिजनका लागि सहकार्य टुट्ने बताएका छन् । नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्ससँगको सम्झौता नेपाल क्रिकेट संघसँग अक्षरसः पालन नभए रद्ध गर्ने बताएका हुन् ।

अध्यक्ष चन्दले साझेदार कम्पनी प्रतियोगिताको दौरान पैसा लिनका लागि भारत पुगेको र सम्झौताअनुसार क्यानलाई उपलब्ध गराउने पर्ने रकम उपलब्ध गराउन नसकेको अवस्थामा आगामी सिजनबाट सम्झौता निरन्तर नहुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्